काठमाडौं – राजावादीहरूले काठमाडौंको तीनकुनेमा गरेको प्रदर्शन, तोडफोड र आगजनीमा संलग्न ५१ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता अपिलराज बोहराका अनुसार शुक्रबार राति अबेरसम्म ५१ जनालाई पक्राउ गरिएको हो ।
अमानवीय, अमर्यादित र गैरकानुनी आपराधिक गतिविधिमा संलग्न भएकाले उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा राप्रपामा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणासहितका छन् ।
शुक्रबार पूर्वराजा समर्थकहरुले गरेको प्रदर्शन उग्र बन्दा २ जनाको मृत्यु र ११० जना घाइते भएका छन् भने १४ वटा आगजनी समेत भएको छ ।
कीर्तिपुर नगरपालिका–४ बस्ने २९ वर्षका सविन महर्जन र एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजकको मृत्यु भएको हो । तीनकुनेस्थित मार्वल हाउसमा रजक मृत फेला परेका हुन् ।
प्रदर्शनका क्रममा ५३ जना प्रहरी घाइते भएका र तीमध्ये २२ जना सशस्त्र प्रहरी र ३१ जना नेपाल प्रहरी रहेको एसपी बोहोराले जानकारी दिए । यस्तै, प्रदर्शनकारी पक्षका ३५ जना घाइते भएका छन् ।
प्रदर्शनकारीहरूले सरकारी ९ वटा तथा निजी ६ वटा सवारीसाधन गरी जम्मा १५ वटा गाडी तोडफोड गरेको प्रहरीले विवरण संकलन गरेको छ ।
त्यसैगरी, विभिन्न १४ स्थानमा आगजनी भएको छ भने ९ वटा संस्था तथा कार्यालयमा तोडफोड भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार तीनकुने अन्नपूर्ण कम्प्लेक्स, मार्वल हाउस, कोटेश्वर महादेवस्थान, कार्गोको कम्पाउन्ड, कोटेश्वर चोक, भाटभटेनीनजिकैको सरकारी गाडी, जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र, समाजवादी पार्टीको कार्यालय, बालकुमारीबाट काठमाडौं आउने करिडोर बाटो, बानेश्वर पुलपारिपट्टि, एयरपोर्टको फोहोरा, इन्द्रेणी सहकारीको कार्यालय भवन सिनामंगल, रोयल रेस्टुराँ सिनामंगल र एरोम्याक्सको कार्यालय रहेको भवन सिनामंगलमा आगजनी भएको हो ।
त्यसैगरी तोडफोड भएका संस्था तथा कार्यालयहरुमा अन्नपूर्ण मिडिया नेटवर्क तीनकुने, कान्तिपुर मिडिया हाउस बानेश्वर, केएमसी अस्पताल सिनामंगल, सिनामंगलकै डीआईएअगाडिको नयाँ भवन, सिनामंगलमा रहेका प्रहरीका दुई सीसीटीभी, प्रहरी बिट सिनामंगल भत्केको पुल, प्रहरी प्रभाग कोटेश्वर, ट्राफिक प्रहरी प्रभाव कोटेश्वर र समाजवादी पार्टी कार्यालय बागमती करिडोर छन् ।
प्रदर्शनका क्रममा कोटेश्वरमा रहेको भाटभटेनी सुपरमार्केटमा लुटपाट समेत भएको छ ।
प्रतिक्रिया