रविन्द्र मिश्र र धवलशमशेर राणालाई संगठित अपराधको मुद्दा लगाउने तयारी

रविन्द्र मिश्र र धवलशमशेर राणालाई संगठित अपराधको मुद्दा लगाउने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाल प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शम्सेर जबरामाथि संगठित अपराधको मुद्दा लगाउने भएको छ ।

शुक्रबार काठमाडौंको तीनकुनेमा राजावादीहरूको प्रदर्शनमा भएको हिंसात्मक र अराजक गतिविधिविरुद्ध मिश्र, राणासहितमाथि प्रहरीले संगठित अपराधको मुद्दा लगाउने तयारी गरेको हो ।

उनीहरूलाई डकैती, आगजनी, हत्या, लुटपाट जस्ता मुद्दा एकसाथ लगाउने तयारी भइरहेको नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आयार्यले काठमाण्डुपाटीलाई जानकारी दिए ।

आन्दोलनका नाममा अराजकता मच्चाएको र आगजनी तथा लुटपाट गरेको अभियोगमा उनीहरूमाथि कानुनी कारवाही गरिने आचार्यले बताए ।

पूर्वराजा समर्थकहरुले गरेको प्रदर्शन उग्र बन्दा २ जनाको मृत्यु र ११० जना घाइते भएका छन् भने १४ वटा आगजनी समेत भएको छ । कीर्तिपुर नगरपालिका–४ बस्ने २९ वर्षका सविन महर्जन र एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजकको मृत्यु भएको हो ।

प्रदर्शनकारीहरूले सरकारी ९ वटा तथा निजी ६ वटा सवारीसाधन गरी जम्मा १५ वटा गाडी तोडफोड गरेको प्रहरीले जनाएको छ । त्यसैगरी, विभिन्न १४ स्थानमा आगजनी भएको छ भने ९ वटा संस्था तथा कार्यालयमा तोडफोड भएको छ ।प्रदर्शनका क्रममा कोटेश्वरमा रहेको भाटभटेनी सुपरमार्केटमा लुटपाट समेत भएको छ ।

शुक्रबार राति काठमाडौ प्रहरी परिसरले मिश्र र राणालाई पक्राउ गरेको थियो । आन्दोलन अराजक भएको आरोपमा मुख्य नेताहरूलाई प्रहरीले पक्राउ गरेको हो । राजावादी अभियानमा संलग्न स्वागत नेपाललाई पनि प्रहरीले पक्राउ गरेको छ ।

नेपाल हालै गठित संयुक्त जनआन्दोलन समितिका प्रवक्ता हुन् । समितिका संयोजक नवराज सुवेदी भने प्रहरीको नजरबन्दमा छन् ।