काठमाण्डु- गणतन्त्रवादी र राजावादीहरूले शुक्रबार काठमाडौंमा एकसाथ प्रदर्शन गर्ने भएपछि उपत्यकाको सुरक्षा व्यवस्था अत्यन्तै कडा बनाएको छ ।
दुई फरक विचार, पृष्ठभूमि र माग राख्ने पक्षले एकैदिन काठमाडौंलाई नै केन्द्र बनाएर प्रदर्शन गर्ने भएपछि स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ ।
गणतन्त्रवादीहरूले समाजवादी मोर्चाको नाममा र राजावादी पक्षधरहरूले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा काठमाडौंका दुई छुट्टाछुट्टै स्थानमा शक्ति प्रदर्शन गर्दै छन् ।
माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), महेन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा सम्मिलित समाजवादी मोर्चाको जनसभा प्रदर्शनीमार्गमा र पूर्वपञ्च नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले तिनकुनेमा सभा गर्दै छन् । राजावादी समूहको कमाण्ड प्रसाईंले गर्दैछन् ।
काठमाडौंमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) ऋषि तिवारीले दुई समूहको प्रदर्शनलाई ध्यानमा राख्दै उपत्यकको सुरक्षा कडा पारिएका बताए । । उनले सुरक्षाका सबै प्रबन्ध मिलाइएको जानकारी दिए ।
दुई पक्षलाई जम्काभेट हुन नदिने रणनीति सुरक्षा निकायको छ । सीडीओ तिवारीले दुवै पक्षबीच झडपको स्थिति नआओस् भन्नका लागि सुरक्षाकर्मी सर्तक रहेको बताए । दुवै पक्षबीच भेट हुन नदिन झन्डा र नाराका आधारमा प्रदर्शनकारीको पहिचान गरिने पनि उनले बताए । ‘सम्भावित दुर्घटना रोक्न प्रहरीको अधिकतम प्रयास रहनेछ,’ उनले भने ।
दुवै सभालाई लक्षित गरी काठमाडौंमा मात्र नेपाल प्रहरी र सशस्त्रबाट ४५ सय सुरक्षाकर्मी खटिनेछन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौंमा प्रहरीको तीन हजार जनशक्ति परिचालन हुनेछ । सशस्त्र प्रहरीबाट पनि एक हजार पाँच सयको जनशक्ति परिचालन हुने भएको छ । प्रहरीले एक हजार चार सय दस्तालाई अलर्टमा राखेको छ । सादा पोशाकमा पनि सुरक्षाकर्मी परिचालन हुनेछन् । उनीहरूले सूचना संकलन गर्नेछन् । त्यसबाहेक राष्ट्रिय अनुसन्धान विभागका गुप्तचर पनि सभामा सहभागी हुनेछन् । दुवै सभाको निगरानी सिसिटिभी क्यामेरा र ड्रोनबाट हुनेछ ।
प्रतिक्रिया