एमाले नै सकियो कि भन्ने भाष्य बनाइयो : उपमहासचिव ज्ञवाली

एमाले नै सकियो कि भन्ने भाष्य बनाइयो : उपमहासचिव ज्ञवाली


काठमाण्डु – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले देशमा एमाले नै सकियो कि भन्ने भाष्य बनाउन खोजिएको दाबी गरेका छन् ।

नेकपा एमाले व्यास नगर कमिटीको आयोजनामा भएको चियापान तथा नयाँ वर्षको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘विगतमा सरकारमा रहेर विपक्षी दल एमालेलाई देशमा नै एमालेको अस्तित्व सकियो भन्ने प्रोपोगोण्डा चलाइएको थियो । तर त्यो सम्भव थिएन र भएन । अब जनताको मुद्दा एमालेले मात्र सम्बोधन गर्नेछ ।’

देश र जनताको प्रिय पार्टी एमालेलाई सिध्याउन लागे पनि जनताको आशा र विश्वास जोगाउनका लागि पुनः एमालेको सरकार बनेको उनले बताए ।

उनले भने, ‘सरकारको मुख्य उद्देश्य भनेको राजनीतिक स्थिरता हो । जसले सुशासन र विश्वास सिर्जना गर्दछ । एमाले बाहिर हुँदा देशको अर्थतन्त्र साह्रै नाजुक भएको हुँदा त्यसलाई लयमा फर्काउन अहिलेको सरकार लागिपरेको छ ।’

घेराबन्दीको बाबजुद पनि एमाले देशको शक्ति भएको हुँदा एमालेले मात्र देशको विकास र समृद्धि ल्याउने उनले बताए । भष्ट्राचार विरुद्धको लडाइँमा कुनै पक्षपात नगरिने हुँदा अब देश निर्माणमा सम्पूर्ण राजनीतिक शक्तिहरू न्युनतम कार्यक्रममा एकजुट हुनुपर्ने उनले बताए ।