संविधानले नै नेपालको परराष्ट्र नीतिलाई निर्देशित गरेको छ : परराष्ट्र मन्त्री ज्ञवाली

संविधानले नै नेपालको परराष्ट्र नीतिलाई निर्देशित गरेको छ : परराष्ट्र मन्त्री ज्ञवाली


काठमाडौँ- परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संविधानले नै नेपालको परराष्ट्र नीतिलाई निर्देशित गरेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदले उठाएका पश्नकाे जवाफ दिँदै उनले भारतीय प्रधानमन्त्रीको नेपाल राजकीय भ्रमणले नेपाल र भारतबीचमा थप विश्वासको आधार तयार गरेको बताए।

‘राष्ट्रिय हितलाई ध्यानमा राखी नेपालको परराष्ट्र नीति अगाडि बढ्छ, नेपालको आन्तरिक विषय द्विपक्षीय छलफलको विषय हुन सक्दैन ।’ उनले भने  । विगतका विभिन्न प्रतिबद्धता हुने कार्यान्वयन सुस्त हुने परम्परालाई यस पटकको भ्रमणले अन्त्य गरेको चर्चा गर्दै समयबद्ध कार्यान्वयनमा यस पटकको सहमति भएको उनकाे दावी थियाे ।

परराष्ट्रमन्त्री ज्ञवालीले प्रदेश नं २ का मुख्यमन्त्रीले भारतीय प्रधानमन्त्रीका भ्रमणका क्रममा दिPको अभिव्यक्ति खेदजनक रहेको बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री मोदीका बीचमा भएका कुराकानी विषयलाई विवादको विषय नबनाउन, भ्रमणका क्रममा सुरक्षाका विषयलाई विवादमा नतान्न आग्रहसमेत गरे ।

परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल–भारतबीचको सम्बन्ध २१औँ शताब्दी अनुकूल बनाउने, सीमालाई अझ व्यवस्थित, पञ्चेश्वर जलविद्युत् आयोजनामा देखिएका समस्या समाधान हुँदै जाने विश्वास व्यक्त गरे ।