उचित मूल्यमा औषधि उपलब्ध गराउनेबारे सुझाव दिन स्वास्थ्यमन्त्री पौडेलद्वारा समिति गठन

उचित मूल्यमा औषधि उपलब्ध गराउनेबारे सुझाव दिन स्वास्थ्यमन्त्री पौडेलद्वारा समिति गठन


काठमाण्डु – उपभोक्तालाई उचित मूल्यमा औषधि उपलब्ध गराउन भन्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सुझाव समिति गठन गरेका छन् ।

मंगलबार मन्त्रिस्तरीय निर्णय गर्दै मन्त्री पौडेलले अर्थविद् डा. पोषराज पाण्डेको संयोजकत्वमा ७ सदस्यीय सुझाव समिति गठन गरेका हुन् ।

गठित समितिको सदस्यमा स्वास्थ्यविद् डा. अर्पणा न्यौपाने, स्वास्थ्य अर्थविद् डा. देवीप्रसाद प्रसाईं, मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. सरोज शर्मा, नेपाल मेडिकल काउन्सिलका प्रतिनिधि छन् ।

औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाल समितिको सदस्य सचिव छन् । समितिलाई उपभोक्तालाई उचित मूल्यमा औषधि उपलब्ध हुने गरी समायोजनका लागि आवश्यक नीतिगत व्यवस्थाका लागि सुझाव दिन कार्यादेश दिइएको छ ।

समितिलाई छिमेकी देशहरूले अपनाएका औषधि मूल्य सम्बन्धि नीति, व्यवस्था र प्रक्रिया अध्ययन गरी उपयुक्त हुने स्वच्छ मूल्य निर्धारण सम्बन्धी आधारहरू पहिचान गरी गर्नुपर्ने नीतिगत सुधार सम्बन्धी सुझाव दिन भनिएको छ ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार समितिले औषधि मूल्य सम्बन्धित विषयवस्तुबारे अभ्यास पुनरावलोकन समेत गरेर गुणस्तर पहिचान समेत गरी सुझाव सिफारिस गर्नेछ ।

औषधिको मूल्यसँग सम्बन्धित नीति प्रणाली, बजार मूल्य, आयातनिर्यात अवस्था तथा सरकारी नीतिहरूबारे समेत समितिले मन्त्रालयलाई सुझाव दिनेछ ।

मूल्य निर्धारण गर्नुपर्ने थप औषधिहरूको सूची र प्रस्तावित अधिकतम खुद्रा मूल्य सम्बन्धी आधारसहित सुझाव दिन समितिको कार्यादेश छ । कार्यसम्पादन गर्नका लागि आवश्यक कार्यविधिहरू समिति आफैंले तयार गर्नेछ । आवश्यकताअनुसार विषयगत उपसमिति गठन गर्न सक्ने तथा समितिका लागि आवश्यक सूचना संकलन, बैठक सञ्चालन तथा सरोकारवालाहरूसँगको छलफल समिति आफैंले निर्धारण गर्नेछ । समितिले नीतिगत एवं मूल्य निर्धारणबारे सुझाव मन्त्रीसमक्ष प्रस्तुत गर्नेछ ।

समितिको सोही सुझावका आधारमा उपभोक्तालाई औषधिको गुणस्तर नियन्त्रण प्रभावकारी बनाउँदै उचित मूल्यमा उपलब्ध गराउने गरी मन्त्रालयले आवश्यक निर्णय समेत लिने प्रवक्ता डा. बुढाथोकीले जानकारी दिए ।