अस्पतालमा नभेटिने चिकित्सकलाई कारबाही गर्न स्वास्थ्यमन्त्री पौडेलको निर्देशन

अस्पतालमा नभेटिने चिकित्सकलाई कारबाही गर्न स्वास्थ्यमन्त्री पौडेलको निर्देशन


काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले कार्यालय समयमा अस्पतालमा उपलब्ध नहुने चिकित्सकलाई कारबाही गर्न निर्देशन दिएका छन् ।

मन्त्री पौडेलले गुनासो सुनुवाइ इकाई ‘हेल्लो स्वास्थ्य १११५’मा कार्यालय समयमा चिकित्सक उपलब्ध नभएको गुनासो आएको र अटेर गरेको पाइए कारबाही गर्न मातहतका अधिकारीलाई निर्देशन दिए ।

विद्युतीय हाजिरी अनिवार्य गर्ने व्यवस्था मिलाउनका लागि समेत उनले निर्देशन दिए । मन्त्री पौडेलले नियमित रूपमा हेल्लो स्वास्थ्यमा आएका गुनासा सुन्दै सुधारका लागि अधिकारीको ध्यानाकर्षण गराउँदै आएका छन् ।

मन्त्रालय अन्तर्गतको गुणस्तर मापन तथा नियन्त्रण महाशाखाले मातहतका सबै कार्यालयमा पठाएको पत्रमा चिकित्सक एवं स्वास्थ्यकर्मी कार्यालय समयमा कार्यकक्षमा रही सेवा प्रवाहको व्यवस्था मिलाउन निर्देशन गरिएको छ ।

मन्त्रालयले मातहतका सबै अस्पतालमा पत्राचार गर्दै कार्यालय समयमा सेवा प्रवाह गरेको सुनिश्चितता गर्न भनेको छ । कार्यालय समयमा बाहिर जानु परे लगबूक राखेर मात्र जाने व्यवस्था मिलाउन पत्रमा भनिएको छ । मन्त्रालयले कार्यालयमा आउँदा र जाँदा अनिवार्य रूपमा विद्युतीय हाजिरी गर्ने व्यवस्था मिलाउन पत्राचार गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले कार्यालय समयमा चिकित्सक तथा स्वास्थ्यकर्मी नभएको बारम्बारको गुनासोपछि पत्राचार गरिएको भन्दै अनुगमन पनि गर्ने बताए ।