पक्षघातको दुर्लभ र महंगो औषधि निःशुल्क उपलब्ध गराउने स्वास्थ्यमन्त्री पौडेलको निर्णय

पक्षघातको दुर्लभ र महंगो औषधि निःशुल्क उपलब्ध गराउने स्वास्थ्यमन्त्री पौडेलको निर्णय


काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपालमा दुर्लभ पक्षघातको उपचारमा प्रयोग हुने निकै महंगो औषधि निःशुल्क उपलब्ध गराउने निर्णय गरेका छन् ।

हरेक वर्ष झण्डै ८०० जनाको ज्यान गइरहेको पक्षघातको उपचार गरी जीवनरक्षा गर्न अमेरिकी सहयोगमा प्राप्त औषधि संघीय तथा प्रदेश अस्पतालमार्फत निःशुल्क वितरण गरिने मन्त्री पौडेलले बताए ।

‘उपचार गर्न सकिने भए पनि औषधि दुर्लभ र महंगो हुँदा धेरैको ज्यान गइरहेको पायौं,’ पोखरामा आयोजित एक कार्यक्रममा उनले भने, ‘यसलाई रोक्न सरकारले नै औषधि प्राप्त गरेर प्रदान गर्ने व्यवस्था मिलाउन लागेको हो ।’

रक्तचाप र मुटु सम्बन्धी समस्या देखिएका व्यक्तिमा पक्षघात हुने अवस्थामा औषधि प्राप्त नहुँदा ज्यान जाने संख्या बढेको मन्त्रालयको विवरणमा छ ।

थ्रोम्बोलाइटिक ड्रग्स नामक औषधिको एक मात्रा सेवन गरेमा धेरैको ज्यान गइरहेको पक्षघातको सफल निदान हुने चिकित्सकले बताउने गरेका छन् । जुन औषधिको एउटा मात्राको मूल्य नेपालमा झण्डै १ लाख ३८ हजार पर्छ र सहजै उपलब्ध नहुने भएकाले औषधि नपाएकै कारण धेरैको ज्यान गइरहेकाले मन्त्रालयले औषधिको प्राप्ति र सहज उपलब्ध गराउन पहल गरेको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

अमेरिकी च्यारिटी डाइरेक्ट रिलिफ र मन्त्रालयबीच यससम्बन्धी सहयोगका लागि हस्ताक्षर भएको छ । संस्थाले ५ वर्षसम्मका लागि यस्तो औषधि सरकारको मागका आधारमा उपलब्ध गराउने गरी प्रतिबद्धता जनाएको मन्त्रालयका प्रवक्ता बुढाथोकीले बताए ।

मन्त्रालयले यी औषधी वितरण र उपचारको व्यवस्थाका लागि निर्देशिका बनाउने प्रक्रिया पनि अघि बढाइसकेको छ । पक्षघातको औषधि र उपचार हुने निर्देशिका संघीय र प्रदेश अस्पतालहरूमा लागू हुनेछ । यो उपलब्धि नेपालको स्वास्थ्य उपचार सेवामा महत्त्वपूर्ण भएको न्यूरो चिकित्सक डा. राजु पौडेलले जानकारी दिए ।