कांग्रेस–एमालेबीच विशेष सहमति छ, चलखेलले कुनै असर गर्दैन : उपमहासचिव ज्ञवाली

कांग्रेस–एमालेबीच विशेष सहमति छ, चलखेलले कुनै असर गर्दैन : उपमहासचिव ज्ञवाली


काठमाण्डु – नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले २ ठूला दल कांग्रेस र एमालेको सरकार बनेपछि मुलुकमा विकासले लय लिन थालेको बताएका छन् ।

एमाले लमजुङद्वारा मंगलबार बेंसीसहर नगरपालिका–८ स्थित मदन आश्रित भवनमा आयोजित ३ दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उपमहासचिव ज्ञवालीले वर्तमान सरकार बनेपछि अर्थतन्त्र, सुशासन, पूर्वाधार, शिक्षा, स्वास्थ्य लगायत क्षेत्रले गति लिन थालेको दाबी गरे ।

सुशासन र प्रभावकारी सेवाका लागि कानून बनेकाले सहकारी पीडितले समेत राहत पाउन थालेका उनले बताए ।

‘अधिकार सम्पन्न सहकारी प्राधिकरण बनेको छ,’ उनले भने । मुलुकमा देखिएको संकट समाधान गर्न २ ठूला दल एक ठाउँमा आएका उल्लेख गर्दै उपमहासचिव ज्ञवालीले कांग्रेस र एमालेबीच विशेष सहमति बनेको बताए । सरकारलाई घेराबन्दीमा पार्न विभिन्न चलखेल सुरु भए त्यसले कुनै असर नपार्ने उनले बताए ।

‘कांग्रेस र एमाले प्रमुख प्रतिस्पर्धी दल मात्र नभएर एकअर्काका सहयात्री भएकाले मुलुक सञ्चालन गर्न दुवै दल गम्भीर छन्,’ उपमहासचिव ज्ञवालीले भने ।

वर्तमान सरकारलाई बलियो बनाएर अघि बढ्दै एमालेलाई १ नम्बरको राष्ट्रिय शक्ति बनाउने लक्ष्य रहेको ज्ञवालीले बताए ।