काठमाण्डु – खानेपानी मन्त्री प्रदीप यादवले सपना देख्न सक्ने र पूरा गर्न सक्ने जनशक्ति कर्णाली प्रदेशमा रहेको बताएका छन् ।
कर्णाली प्रदेशको जुम्ला जिल्लास्थित कर्णाली प्राविधिक शिक्षालय जुम्ला तथा तातोपानी गाउँपालिका–१ मा निर्माणाधीन धौलीगाढ खानेपानी आयोजनाको अवलोकन तथा निरीक्षणपश्चात उनले भने, ‘आजको दिन दुर्गम तथा सौन्दर्यले भरिपूर्ण कर्णालीको मुटु, जुम्ला आइपुगेको छु । कर्णाली अब पिछडिने छैन । सपना देख्न सक्ने र त्यो सपना पूरा गर्न सक्ने जनशक्ति यहाँ छ ।’
मन्त्री यादवले कर्णाली प्रदेशका दुर्गम जिल्लासहित जुम्लाका विद्यार्थी र जनसमुदायले वर्षौंदेखि भोग्दै आएका खानेपानी लगायतका विविध समस्याको आफूले समाधान गरेर छाड्ने प्रतिबद्धता व्यक्त गरे ।
‘यहाँका विद्यार्थी र जनसमुदायले भोग्दै आएका खानेपानी लगायतका विविध समस्याबारे प्रत्यक्ष जानकारी लिने मौका पाएँ । यहाँको खानेपानीको क्षेत्रमा देखिएका समस्या समाधान गरेरै छोड्छौं,’ उनले भने ।
जुम्लाको कठोर भौगोलिक बनोटबीच पनि यहाँका जनताको आँट, साहस र सम्भावनाले गहिरो प्रेरणा दिएको समेत मन्त्री यादवले बताए । उनले भने, ‘तपाईंहरूको आँट, साहस र सम्भावनाले मलाई गहिरो प्रेरणा दिएको छ । कर्णालीवासीको उज्यालो भविष्यका लागि सँगै सहकार्य गरौं ।’
जुम्ला जिल्लास्थित हेमा गाउँपालिका–१ देवारगाउँमा आईतबार आयोजना हुने वास सम्मेलनमा सहभागिता जनाउन एवं खानेपानी क्षेत्रमा विद्यमान समस्या र त्यसका समाधानका उपायहरू पहिचान गर्नका लागि मन्त्री यादवसहित मन्त्रालयका सचिव इन्जिनीयर प्रमिलादेवी शाक्य बज्राचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इन्जिनीयर रामकुमार श्रेष्ठ लगायतको टोली शनिबार जुम्ला पुगेको छ ।
प्रतिक्रिया