काठमाण्डुमा पानीको थप स्रोत खोजी गर्न मन्त्री यादवको निर्देशन

काठमाण्डुमा पानीको थप स्रोत खोजी गर्न मन्त्री यादवको निर्देशन


काठमाण्डु – खानेपानीमन्त्री प्रदीप यादवले वर्षायाममा मेलम्चीको पानी नआउँदासम्म काठमाण्डु उपत्यकामा पानीको आपूर्ति सुधार्न र थप स्रोत खोजी गर्न निर्देशन दिएका छन् ।

काठमाण्डुको तारकेश्वर नगरपालिकास्थित अल्ले र बौडे तथा टोखा नगरपालिकास्थित भण्डारे मुहानको अनुगमन तथा निरीक्षणपश्चात उनले यस्ता स्रोतहरूको संरक्षण र सुधारलाई प्राथमिकता दिई पानीको चुहावट रोक्न निर्देशन दिए ।

उनले मन्त्रालयका कर्मचारीलाई हाल अल्ले, बौडे, भण्डारे र तारकेश्वर लगायतमा रहेका मुहानबाट आपूर्ति भइरहेको ६५ लाख लिटर पानी अपुग रहेको बताए । ती मुहानबाट दैनिक १ करोड २१ लाख लिटर पानी आपूर्ति हुनसक्ने सम्भावना रहेकाले सोहीअनुसार काम अगाडि बढाउन निर्देशन दिए ।

मन्त्री यादवले उपत्यकाका पानीका स्रोतलाई दीर्घकालीन रूपमा संरक्षित गर्नु मन्त्रालयको प्रमुख दायित्व भएको उल्लेख गरे । उनले भने, ‘यस्ता स्रोतहरूको पानी नजोगिने गरी चुहावट भइरहेकाले त्यसलाई रोक्न अत्यावश्यक छ ।’

मन्त्री यादवले खानेपानी समस्याको दीर्घकालीन समाधान गर्न मन्त्रालयबाट आफूले प्राथमिकताका साथ ठोस योजना अघि सारिरहेको दाबी गरे । उनले भने, ‘खानेपानीको समस्याबाट देशभरका जनताले दुःख पाइरहेका छन्, म यो विषयमा गम्भीर छु ।’

अनुगमनका क्रममा स्थानीयसँग छलफल गर्दै मन्त्री यादवले उक्त क्षेत्रमा भएका चुनौती र सम्भावनाबारे थप जानकारी लिए । समस्या समाधानका लागि सरकार दृढतापूर्वक काम गरिरहेको उनले स्पष्ट पारे । खानेपानीको दीगो व्यवस्थापनका लागि दीर्घकालीन समाधानमा ध्यान दिइरहेको बताउँदै मन्त्री यादवले भने, ‘हामी उपत्यकाका वासिन्दालाई सुरक्षित र गुणस्तरीय पानीको आपूर्ति सुनिश्चित गर्न निरन्तर लागिरहेका छौं ।’

खानेपानीका लागि जनताको आशा र अपेक्षा सम्बोधन गर्न आगामी दिनमा थप प्रभावकारी योजना अघि बढाइने मन्त्री यादवले जानकारी दिए । अनुगमन टोलीमा मन्त्रालयका सचिव प्रमीलादेवी शाक्य बज्राचार्य, खानेपानी तथा व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठ, काठमाण्डु उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक पौडेल लगायतको सहभागिता थियो ।