कांग्रेस नेता प्रदीप गिरि आइसियूमा

कांग्रेस नेता प्रदीप गिरि आइसियूमा


काठमाण्डु –  नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरिको स्वास्थ्यमा सुधार नआएपछि सघन उपचार कक्ष (आइसियू) मा राखेर उपचार भइरहेको छ।

साउन दोस्रो साता ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका गिरिको स्वास्थ्यमा सुधार नआएपछि अहिले उनलाई आइसियूमा राखिएको हो।

गिरिको घाँटीमा क्यान्सर भएको थियाे। साथै निमोनिया पनि देखिएको अस्पतालले जनाएकाे छ । निमोनिया देखिएपछि मेडिसिटी अस्पतालमा राखेर उनको उपचार भइरहेकाे छ।

स्वास्थ्यमा समस्या देखिएपछि गत वर्ष साउनमा गिरि उपचारका लागि भारतको मुम्बई गएका थिए। करिब एक वर्ष उपचारपछि गिरिलाई यही साउनमा स्वदेश ल्याइएको थियो।

कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि शुक्रबार गिरिको स्वास्थ्य अवस्थाबारे बुझ्न मेडिसिटी पुगेका थिए। अस्पतालबाट फर्किएपछि निधिले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्- आदरणीय मेरा अग्रज भ्रातातुल्य मित्र, समाजवादी, गान्धीवादी, विचारक, योद्धा, नेपाली कांग्रेसका नेता प्रदीप गिरिलाई मेडिसिटीमा दोस्रो पटक हेरेर बाटोमा फर्कदै छु। स्तब्ध र निरिह छु। ईश्वरीय चमत्कारको लागि प्रार्थना गर्दछु- सबैले प्रार्थना गरौं !