महिला फूटबल खेलाडीको क्लोज क्याम्प पुगे स्वास्थ्यमन्त्री पौडेल, जीतको शुभकामना व्यक्त

महिला फूटबल खेलाडीको क्लोज क्याम्प पुगे स्वास्थ्यमन्त्री पौडेल, जीतको शुभकामना व्यक्त


काठमाण्डु – स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले साफ महिला च्याम्पियनशिप फाइनलको तयारीमा रहेको नेपाली महिला राष्ट्रिय फूटबल टोलीलाई जीतका लागि शुभकामना दिएका छन् ।

खेलाडीहरूको क्लोज क्याम्पस्थल पुगेर मन्त्री पौडेलले आईतबारको सेमिफाइनल खेलमा रोमाञ्चक र उत्कृष्ट प्रदर्शन गरेको भन्दै खेलाडीहरूलाई धन्यवाद पनि दिए ।

मन्त्री पौडेलले त्यसक्रममा एन्फा पदाधिकारीहरू र खेलाडीसामु खेलका क्रममा कोही खेलाडी वा अफिसियल घाइते भएमा निःशुल्क उपचारको व्यवस्था मन्त्रालयका तर्फबाट गर्ने निर्णय गरेको जानकारी दिए ।

‘तपाईंहरू उच्च मनोबलका साथ खेल पस्किनुहोला,’ उनले भने, ‘स्वास्थ्य समस्या परेमा हामी साथमा छौं ।’

खेलाडीहरूको हौसला बढाउँदै उनले यसअघि गरिएको व्यवस्थाअनुसार खेलपश्चात राष्ट्रिय टीमका सबै खेलाडीहरूको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निःशुल्क स्वास्थ्य परीक्षण गरिने प्रतिबद्धता पनि व्यक्त गरे ।

यसअघि नै मन्त्री पौडेल अध्यक्ष रहेको केन्द्रले राष्ट्रिय टीममा रहेका सबै खेलाडीको वार्षिक निःशुल्क स्वास्थ्य परीक्षण गराउने निर्णय गरिसकेको छ ।