दशैंमा फोन अफ नगर्न कर्मचारीलाई खानेपानीमन्त्री यादवको निर्देशन

दशैंमा फोन अफ नगर्न कर्मचारीलाई खानेपानीमन्त्री यादवको निर्देशन


काठमाण्डु – खानेपानीमन्त्री प्रदीप यादवले दशैं लगायतका चाडपर्वका समयमा खानेपानीका विषयमा अत्यावश्यक काम पर्न सक्ने भएकाले मोबाइल फोन अफ नगर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

बुधबार मन्त्रालयमा आयोजना गरिएको वडादशैंको शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री यादवले भने, ‘हामी जनताका सेवक हौं, मानिसलाई पानी नभई नहुने चिज हो । चाडपर्वका बेला पानीका विषयमा समस्या आउन सक्छन्, मोबाइल अफ नगर्नुहोला ।’

उनले हाल विपद्को समय भएकाले थप समस्या आउन सक्नेतर्फ ध्यान दिँदै नागरिकका समस्या समाधान गर्न सबै राष्ट्रसेवक कर्मचारी अग्रसर हुन आग्रह गरे । मन्त्री यादवले भने, ‘विपद्मा विभिन्न परिस्थितिको सामना गर्दै काठमाण्डुमा पानी ल्याउन सफल भएका छौं । जसरी पानी ल्याउन सफल भयौं, त्यसैगरी नागरिकलाई पानी खुवाउन सफल बनौं ।’

काठमाण्डु उपत्यकामा मंगलबारदेखि वितरित मेलम्चीको पानी पुगेको क्षेत्र र पानी अपुग भएको क्षेत्रबारे निरन्तर अनुगमन गरी पानी वितरण गर्न मन्त्री यादवले काठमाण्डु उपत्यका खानेपानी लिमिटेड (केयूकेल) का कर्मचारीहरूलाई निर्देशन दिए ।

हिन्दूहरूको महान् पर्व विजया दशमी, शुभ दिपावली एवं छठपर्व आफ्ना घर परिवारसँग राम्रोसँग मनाउन तथा विजयादशमी सबैका लागि सुःखद् रहोस् भनी मन्त्री यादवले शुभकामना दिए ।