समावेशीतालाई समाप्त पार्न गठबन्धन गरिएको हैन : पूर्व अर्थमन्त्री महत

समावेशीतालाई समाप्त पार्न गठबन्धन गरिएको हैन : पूर्व अर्थमन्त्री महत


चितवन – देशको विषम परिस्थिीतिका कारण नै २ ठूला दल मिल्नुपरेको पूर्व अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बताएका छन् ।

नेपाली कांग्रेस क्षेत्र ३ प्रदेशको आयोजनामा बुधवार पश्चिम चितवनको शारदानगरमा प्रजातन्त्र सेनानी टीकाराम भण्डारीको सातौं दिनको पुण्यतिथिका दिन आयोजित शोकसभामा शोक मन्तव्य राख्दै उनले सामान्यतया २ ठूला दल एक सत्तामा र अर्का प्रतिपक्षमा बस्नुपर्ने भए पनि जनताको मतको कदर गर्दै २ ठूला दल मिल्नुपरेको प्रष्ट्याए ।

उनले भने, ‘तेस्रो, चौथो दलले नेतृत्व गर्दा उसमा म नै सर्वेसर्वा हो, म जे चाहन्छु त्यहीँ हुन्छ भन्ने मानसिकता विकसित भएका कारण दुवैबीच गठबन्धन गर्नुपर्ने भएको हो ।’

उनले संविधान संशोधनका विषयमा माओवादी पार्टी लगायतले पछाडि परेको वर्ग, क्षेत्र, महिला लगायतको समानुपातिक अधिकार खोस्न लागे भन्ने अफवाह फैलाएर सहानुभूति लिन खोजेको आरोप लगाए । सो क्रममा उनले भारत लगायतका देशका निवार्चन प्रणालीहरू अध्ययन गरेर एकल पार्टीको बहुमत आउन सक्ने निवार्चन प्रणालीको लागि संविधान संशोधन आवश्यक भएको बताए ।

पूर्व मन्त्री महतले समावेशीतालाई समाप्त पार्नका लागि संविधान संशोधन गर्न लागे भन्नु गलत भएको बताउँदै उनले समावेशितालाई सुनिश्चित गरेर निर्वाचनमा जान सकिने बताए । डा. महतले स्थायी सरकारका लागि पनि बहुमत ल्याउन सक्ने निर्वाचन प्रणालीमा जानु आवश्यक रहेको प्रष्ट्याए ।