कांग्रेसलाई बलियो बनाउन प्रवासी नेपालीको ठूलो भूमिका : प्रवक्ता डा. महत

कांग्रेसलाई बलियो बनाउन प्रवासी नेपालीको ठूलो भूमिका : प्रवक्ता डा. महत


दिल्ली – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले नेपाली कांग्रेसलाई बलियो बनाउन भारतमा रहेका प्रवासी नेपालीको ठूलो भूमिका रहेको बताएका छन् ।

आईतबार नेपाली जनसम्पर्क समिति भारतले भारतको राजधानी नयाँदिल्लीमा आयोजना गरेको वार्षिक भेला, नेपाल–भारत सम्बन्ध, बीपी विचार र प्रवासी समस्या विषयक अन्तक्र्रिया, प्रशिक्षण एवम् सांस्कृतिक कार्यक्रमलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै प्रवक्ता महतले भने, ‘भारतमा रहेका प्रवासी नेपालीहरूले कांग्रेसलाई बलियो बनाउन खेल्नुभएको भूमिका महत्त्वपूर्ण छ, कांग्रेसलाई अझै बलियो बनाउन उहाँहरूले आगामी दिन खेल्ने भूमिका प्रशंसनीय हुने विश्वास लिएको छु ।’

डा. महतले कुनै पनि संगठनलाई बलियो बनाउन नेता–कार्यकर्ता सबैले व्यक्तिवादी मानसिकता त्याग्नुपर्नेमा जोड दिए । पार्टीमा व्यक्तिवादी सोच र आफू केन्द्रित प्रवृत्ति हावी हुन खोजेको भन्दै उनले यस्ता किसिमका प्रवृत्तिलाई निस्तेज पार्न कांग्रेसका नेता–कार्यकर्ता सबै लाग्नुपर्ने जिकिर गरे ।

प्रवक्ता डा. महतले नेपाल–भारत सम्बन्धको चर्चा गर्दै भने, ‘भारत–नेपालको सबैभन्दा नजिकको छिमेकी भएकाले कहिलेकाहीँ २ देशका बीचमा समस्याहरू आउनु स्वाभाविक हो, ती समस्याहरूको समाधान कूटनीतिक रूपमा वार्ताको टेबुलमा बसेर हल गर्नुपर्छ ।’

कार्यक्रममा बोल्दै डा. महतले माओवादीको अस्थिर चरित्रका कारण अहिलेको एमाले–कांग्रेस गठबन्धन बनेको बताए । ७ बुँदे समझदारी अनुसार सरकार अगाडि बढ्नुपर्ने कुरामा जोड दिँदै उनले समझदारी अनुसार नै अन्तिममा पार्टी सभापति शेरबहादुर देउवाले चुनावी सरकारको नेतृत्व गर्ने कुरा बताए ।