सरकार सहमतिअनुसार चलेको छ : डा. महत

सरकार सहमतिअनुसार चलेको छ : डा. महत


नुवाकोट – नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले देशलाई निकास दिन २ ठूला दलहरूबीच भएको सहमतिअनुसार सरकार चलेको दाबी गरेका छन् ।

नुवाकोटको पन्चकन्यास्थित घ्याङस्वारामा तरुण दलले आयोजना गरेको कार्यक्रममा नेता डा. महतले सरकारले कांग्रेस र एमालेको साझा भावनाअनुसार कार्य गरिरहेको बताए ।

देशलाई विधि र नीति अनुसार सञ्चालन गर्न भएको २ दलीय सहमतिअनुसार सरकार क्रियाशील रहेको र सरकारलाई साथ दिन नेपाली कांग्रेस अडिग रहेको बताए । डा. महतले सरकार विरोधी शक्तिहरू सल्बलाउन थालेका कारण यसको निरुपण जरुरी रहेको समेत बताए । देशमा भएका समस्या समाधान गरेर अगाडि बढ्न कांग्रेस र एमालेबीच सहमति भएको उल्लेख गर्दै उनले सहमति आगामी निर्वाचनसम्मै जाने बताए । सहमतिअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको समयावधि पुगेपछि कांग्रेसले सरकारको नेतृत्व गर्ने समेत प्रवक्ता महतले बताए ।

ओलीपछि देशको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने महतले बताए । ‘२ दल प्रस्ट छौं, कोही कसैले केही कुरामा भाँजो हाल्न थालेका छन् तर हामी २ दल देशलाई सत्मार्गमा लैजान केन्द्रित छौं,’ डा. महतले भने ।

डा. महतले ‘नेपाली कांग्रेसको १०० दिने कार्यक्रम’ अन्तर्गत आयोजित कार्यक्रममा पार्टी स्थापना गर्ने संस्थापक नेताहरूको त्याग र योगदानबाट सिर्जित विधि र नीतिले मुलुकको विश्वासिलो र भरपर्दो पार्टीको छवि कायम राख्न कांग्रेस सफल हुँदै आएको बताए ।