काठमाण्डु- काठमाण्डुको क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रबीच भिडन्त हुने भएको छ ।
मंसिर चार गते हुने संघ र प्रदेशसभाको निर्वाचन अन्तर्गत काठमाण्ड १ मा नेता सिंह र मिश्रबीच भिडन्त हुने भएको हो । सत्तारुढ गठबन्धनको सिट भागबन्डामा सुरक्षित नेता हुन् प्रकाशमान सिंह । सिंहले चुनाव लड्दै आएको प्रतिनिधिसभाको काठमाण्डु १ मा गठबन्धनका अरु दलको दाबी छैन ।
उनले उक्त क्षेत्रबाट निरन्तर चुनाव जित्दै आएका छन् । संघीय निर्वाचन अन्तर्गत सिंहको नाम सर्वसम्मत रुपमा सिफारिस भएको छ । यता विवेकशील साझा त्यागेर राप्रपासँग एकीकरण गरेका मिश्रले शुक्रबार काठमाण्डु क्षेत्रनम्बर १ बाट उम्मेदवारी घोषणा गरेसँगै नेता सिंहसँग उनको टक्कर हुने पक्का नै भएको हो ।
मिश्र २०७४ को संसदीय चुनावमा पनि सोही क्षेत्रमा उम्मेदवार रहेका थिए । उनी त्यसबेला सिंहसँग थोरै मतान्तरमा पराति भएका थिए । तर, सिंहलाई चुनावी प्रतिस्पर्धा भने यो पटक सहज देखिएको छैन ।
२०७४ कै चुनावमा उनलाई विवेकशील साझाबाट उम्मेदवारी दिएका मिश्रले कडा टक्कर दिएका थिए । सिंह ८१९ मतान्तरले विजयी भए । सिंहले १० हजार ९३७ मत पाउँदा मिश्रले १० हजार ११८ मत पाएका थिए ।
गत वैशाखको स्थानीय तहको निर्वाचनमा यो क्षेत्रमा एमाले ९ हजार ५४१ मत ल्याएको छ । राप्रपाले १ हजार ३७६ मत पाएको थियो । हाल मिश्रले राप्रपाबाट उम्मेदवारी घोषणा गरेका छन् ।
नेकपा एमालेको समर्थन पाए उनी बलिया प्रतिस्पर्धी हुनेछन् । किनकी अघिल्लो चुनावमा उनले अरु दलबाट घोषित समर्थन पाएका थिएनन् । काठमाण्डु १ मा चार वडा (१०, ११, २९ र ३१) रहेका छन् । नयाँ बानेश्वर, त्रिपुरेश्वर, डिल्लीबजार र शान्तिनगर काठमाण्डु क्षेत्र नम्बर १ मा पर्दछन् ।
गत स्थानीय तहको निर्वाचनमा कांग्रेसले ३१ बाहेकका अरु तीन वडा जितेको थियो । दलगत रुपमा स्थानीय तहको मतको आधारमा विश्लेषण गर्दा कांग्रेस ९ हजार ८९५ मतका साथ पहिलो स्थानमा छ । माओवादीले एक हजार १५९ मत पाएको थियो भने एकीकृत समाजवादीको पनि मत छ ।
प्रतिक्रिया