नागरिक उड्डयन ऐनमा नियामक र सेवा प्रदायक निकाय छुट्याउन पूर्वपर्यटनमन्त्रीहरूको सुझाव

नागरिक उड्डयन ऐनमा नियामक र सेवा प्रदायक निकाय छुट्याउन पूर्वपर्यटनमन्त्रीहरूको सुझाव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पूर्वसंस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीहरूले प्रस्तावित नागरिक उड्डयन ऐनमा नियामक निकाय र सेवा प्रदायक निकाय अलग अलग राख्न सुझाव दिएका छन् ।

सस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले शुक्रबार पूर्वपर्यटन मन्त्रीहरुसँग गरेको छलफलमा नेपाल नागरिक उड्डयन ऐनमा नियामक निकाय र सेवा प्रदायक निकायहरू एक साथ राख्न नहुने सुझाव पूर्वपर्यटनमन्त्रीहरूले दिएका हुन् ।

बैठकमा मन्त्री पाण्डेले समग्र हवाई क्षेत्रको सुधारका लागि पूर्वमन्त्रीहरूसँग अनुभवसहितको सुझाव मागेका थिए । उनीहरूले संस्कृति, पर्यटन र नागरिक उड्डयनका विषयमा अलग अलग सुझाव दिएका थिए ।

पूर्वमन्त्रीहरूले नेपालमा जहाज दुर्घटना मानवीय, प्राविधिक र मौसमी कारणले हुने गरेको बताएका थिए । मानवीय र प्राविधिक कारणहरू सुधार गर्न सकिने भए पनि मौसमी कारणबारे सचेत रहनुपर्ने उनीहरूको धारणा आएको मनत्री पाण्डेको सचिवालयले जानकारी दिएको छ । दुर्घटनापछि ज्यान गुमाइसकेका पाईलटमाथि मात्र दोष लगाउन नहुने उनीहरूको तर्क थियो ।

पूर्वपर्यटन मन्त्रीहरूले नेपाल नागरिक उड्डयन प्राधिकरणमा आमूल परिवर्तन आवश्यक भएको र सो नभएसम्म मन्त्रालय चुस्त, दुरूस्त रूपमा काम गर्न नसक्ने सुझाव दिएका छन् ।

नियामक निकाय र सेवा प्रदायक निकायलाई अलग अलग राख्ने विषय विधेयकमा राख्नु पर्ने सुझाव दिँदै उनीहरूले नागरिक उड्डयनतर्फ वैधानिक र कार्यान्वयनका क्षेत्रमा गम्भीर भएर काम गर्नु पर्ने बताएका मन्त्री पाण्डेको सचिवालयले जनाएको छ । तल्लो तहका कर्मचारीहरूले माथिल्लो तहका कर्मचारीलाई राजनीतिक शक्तिको आवरणमा धम्काउने भएकाले त्यसतर्फ समेत सचेत भई अघि बढ्न अनुरोध गरेका छन् ।

जहाज खरिद र मर्मत गर्ने कुरामा सोच विचार गरेर मात्रै काम गर्न सुझाव दिएका उनीहरूले नागरिक उड्डयन प्राधिकरणलगायतका क्षेत्रमा वेथिथि रहेकाले सचेत भएर नडगमगाई काम गर्न सुझाएका थिए ।

पूर्वमन्त्रीहरूले घटना भएपछि आयोग बनाउनु भन्दा पनि घटना नहुँदै आयोग बनाएर दुर्घटना हुन नदिने गरी काम गर्नु पर्ने उनीहरूको सुझाव थियो ।

नजिकका स्वार्थ समूहहरूबाट बच्न सुझाउँदै उनीहरूले अन्तराष्ट्रिय नागरिक उड्डयन संस्था (आईसीएओ) नियम पालना गरेर अघि बढ्न आग्रह गरे । त्यस्तै उहाँहरूले हवाई माफियाबाट सचेत रहन सुझाव दिए । विभागीय मन्त्रीहरूलाई विना कारण नियोजित रूपमा फसाउने षड्यन्त्र हुने भएकाले त्यसतर्फ सचेत रहन अनुरोध गरे ।

लुम्बिनी विकास कोष, पशुपति क्षेत्र विकास कोष, पर्यटन बोर्डलगायतका क्षेत्रमा भएका वेथितिहरूको अन्त्य गर्दै अघि बढ्न जोड दिए । विमान स्थल सुुधारका लागि आयल निगमको डिपोहरू सार्नु पर्ने, ट्याक्सी पार्किङमा सुधार गर्नु पर्ने, क्यानको वर्तमान संरचनामा सुधार गर्दै अघि बढ्न मन्त्री पाण्डेलाई सुझाव दिएका थिए ।

छलफलमा पूर्वपर्यटन मन्त्रीहरू बलबहादुर केसी, आनन्दप्रसाद ढुंगाना, जीवनबहादुर शाही, हीतबहादुर तामांगलगायत सहभागी थिए ।