राष्ट्रपति निर्वाचनका लागि संसद भवनमा कार्यालय खोलियो

राष्ट्रपति निर्वाचनका लागि संसद भवनमा कार्यालय खोलियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– फागुन २९ गते तय भएको राष्ट्रपति निर्वाचनका लागि नयाँ बानेश्वरस्थित संसद भवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।
बिहीबार संघीय संसद भवन परिसरभित्र राष्ट्रपति निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो।

नयाँ संवैधानिक व्यवस्था अनुसार राष्ट्रपतिको निर्वाचन सम्पन्न गराउन निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको निर्वाचन अधिकृत पाटन उच्च अदालतका न्यायाधिश तीलप्रसाद श्रेष्ठले जानकारी दिए।

राष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले आगामी २१ गते सोमबारबाट सुरु हुने गरी निर्वाचन कार्यतालिका पनि सार्वजनिक गरेको छ । २१ गते मतदाता नामावली प्रकाशन गर्ने, २३ गते उम्मेदवार मनोनयन गर्ने र २९ गते राष्ट्रपति निर्वाचनको मतदान हुनेगरी निर्वाचन कार्यतालिका तय गरिएको पनि निर्वाचन अधिकृत श्रेष्ठले जनाए।

निर्वाचन आयोगको गत फागुन १५ गते बसेको बैठकले पाटन उच्च अदालतका न्यायाधीश श्रेष्ठलाई राष्ट्रपति निर्वाचन अधिकृतमा नियुक्त गरेको थियो भने संघीय संसद भवन परिसर भित्रै निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो।

सोही निर्णय अनुसार विहीबारदेखि राष्ट्रपति निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । निर्वाचन आयोगले सरकारसँग परामर्श गरी आगामी फागुन २९ गते मंगलबार राष्ट्रपति निर्वाचनको मिति तय गरेको हो।

२९ गते विहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म संघीय संसद भवनमा राष्ट्रपति निर्वाचनको मतदान हुनेछ। त्यसपछि तत्काल मतगणना हुनेछ। राष्ट्रपति निर्वाचनका लागि प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभामा सांसदहरु मतदाता रहने संवैधानिक व्यवस्था छ।