काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानद्बारा सुनिश्चित गरिएका मौलिक अधिकारको कार्यान्वयन गरी राज्यबाट प्राप्त हुने सेवा र सुविधामा सबै नागरिकको समान पहुँच स्थापित गर्नुपर्ने बताएकी छन् ।
संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७९ को शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई वृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएकी छन् ।
नवस्थापित संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र सुदृढीकरण गर्न मुलुकको राष्ट्रिय एकता‚ अखण्डता र जनतामा निहित सार्वभौमसत्तालाई सर्वोपरी राख्न आवश्यक रहेको उनको भनाइ छ । ‘देशको हित र जनताको उन्नतिभन्दा ठूलो हाम्रो अर्को कुनै लक्ष्य हुन सक्दैन । यही भावनाबाट अनुप्राणित भई संविधानको पालना र कार्यान्वयन गर्न राज्यका सबै अङ्गहरूले निष्पक्ष र न्यायपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दछु,’ उनको भनाइ छ ।
संविधान जारी भएपश्चात प्रतिनिधिसभा तथा प्रदेशसभाको दोस्रो निर्वाचन आगामी मंसिर ४ गते हुन गइरहेको छ । आम निर्वाचनमा सक्रियतापूर्वक सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकारको सदुपयोग गर्न म सबै मतदातामा उनले अपील पनि गरेकी छन् ।
प्रतिक्रिया