प्रधानमन्त्रीको भारत भ्रमणको पूर्वसन्ध्यामा राष्ट्रपतिले भनिन्–तराई डुबाउने बाँधबारे भारतसँग कुरा गर्नस्

प्रधानमन्त्रीको भारत भ्रमणको पूर्वसन्ध्यामा राष्ट्रपतिले भनिन्–तराई डुबाउने बाँधबारे भारतसँग कुरा गर्नस्


काठमाडाैं–राष्ट्रपति विद्यादेवी भण्डारीले बाढीपहिरोबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्स्थापनको उचित प्रवन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराएकी छन्।

 

राष्ट्रपति भण्डारीले शनिबार प्रधानमन्त्री शेरबहादुर देवासहित प्रमुख तीन दलका शीर्ष नेतालाई शितलनिवास डाँकेर प्राकृतिक प्रकोप न्युनिकरण गर्न अल्पकालीन र दीर्घकालिन रुपमा नदी प्रणालीलाई व्यवस्थित गर्न सरकारको ध्यान आकृष्ट गराइन्।

 

राष्ट्रपति भण्डारीले भारतद्वारा निर्मित एकतर्फी बाँधका कारण नेपालका दक्षिणी भूभाग वर्षेनी डुबानमा पर्ने हुँदा मैत्रीपूर्ण कूटनीतिका माध्यमबाट समाधान खोज्न पनि आग्रह गरिन। प्रधानमन्त्री देउवा आगामी भदौ ७ गते भारत भ्रमणमा जाँदैछन्। भ्रमणको पूर्वसन्ध्यामा भएको भेटमा राष्ट्रपति भण्डारीले कुटनीतिक पहल चाल्न बताएकी हुन्।

 

यसैगरी, राष्ट्रपति भण्डारीले उच्च राजनीतिक समझदारीका साथ संविधान कार्यान्वयन गर्न सबैलाई आग्रह गरेकी छन्। संविधानले परिकल्पना गरे अनुरुपको समाजवाद उन्मुख अर्थतन्त्र निर्माण तर्फ ध्यान केन्द्रित गर्दै भण्डारीले समृद्ध नेपाल निर्माण गर्ने तर्फ ध्यान आकृष्ट गराइन्। राष्ट्रिय हितलाई सर्वोपरी राखेर असंलग्न परराष्ट्र नीतिको सिद्धान्तका आधारमा साझा परराष्ट्र नीति अवलम्वन गर्न पनि भण्डारीले ध्यानाकर्षण गराएकी छन्।

 

भेटमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष कपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, एमालेका उपाध्यक्ष वामदेव गौतम र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको उपस्थिति रहेको थियो।