अफवाह फैलाएको आरोपमा १० यूट्युब च्यानलमाथि प्रेस काउन्सिलको कारवाही

अफवाह फैलाएको आरोपमा १० यूट्युब च्यानलमाथि प्रेस काउन्सिलको कारवाही


काठमाण्डु – अपुष्ट र भ्रमपूर्ण सामग्री प्रसारण गरी समाजलाई दीग्भ्रमित पारेको भन्दै प्रेस काउन्सिल नेपालले थप १० वटा यूट्युब च्यानलसहित सामाजिक सञ्जाललाई सोमबार कारवाही गरेको छ ।

तीमध्ये अधिकांश दर्ता/सूचीकरण नगरी सञ्चालित छन् । मिडिया अन्तर्गत दर्ता/सूचीकरण नभई सञ्चालित सामाजिक सञ्जाललाई काउन्सिलले अनुसन्धान गरी कारवाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो)मा पत्राचार गरेको छ ।

काउन्सिलले पछिल्लो समयमा कुनै मिडियासँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जाल विशेषगरी यूट्युब च्यानल तथा फेसबूक पेजबाट सम्प्रेषित सामग्रीको समेत विशेष अनुगमन गरिरहेको छ । सामाजिक सञ्जालबाट घृणा तथा द्वेष फैलाउने किसिमबाट अपुष्ट, आधारहीन, एकपक्षीय आरोप सहितका सामग्रीमाथि अनुगमन भइरहेको सहप्रवक्ता एवं सूचना अधिकारी रामशरण बोहराद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख छ ।

गलत, भ्रमपूर्ण, अफवाहपूर्ण, पक्षपोषणयुक्त, गालीगलौजपूर्ण र अतिरञ्जित सामग्रीलाई प्राथमिकतासहित स्थान दिई प्रकाशन/प्रसारण गर्ने यूट्युबमाथि काउन्सिलले पछिल्लो समय कार्यविधि बनाई कारबाही प्रक्रिया अघि बढाएको छ ।

मंसिर ४ गते यस्तै खालका ९ यूट्युब च्यानल र पेजलाई काउन्सिलले कारवाही गरेको थियो । सोमबार विना दर्ता सञ्चालित मिसन टुडे, डेलिन्यूज एनपी, सेवायो न्यूज, मिडिया ताजा खबर, ऋणी एशोसिएशन र हट न्युज नेपाल नामक यूट्युब च्यानल र पेजलाई थप अनुसन्धानका लागि प्रहरीमा पत्राचार गरिएको छ ।

अन्य माध्यमलाई गलत र भ्रमपूर्ण सामग्री हटाएर सामग्री प्रसारण गर्नुको कारणसहित २४ घण्टाभित्र पेश गर्न काउन्सिलले निर्देशन दिएको छ ।

काउन्सिलको अनुगमनको क्रममा मिडियाअन्तर्गत आबद्ध भएका सामाजिक सञ्जाल (यूट्युब च्यानल)बाट आममानिसलाई उत्तेजित बनाउने तथा सन्त्रास फैलाउने, घृणा तथा द्वेष फैलाउने, अपुष्ट, भ्रमपूर्ण, अफवाहपूर्ण अभिव्यक्ति/भनाइलाई प्राथमिकताका साथ स्थान दिई सम्पे्रषित सामग्री पहिलो दृष्टिमा आचारसंहिता प्रतिकूल देखिएको उल्लेख छ ।

‘सञ्चार क्षेत्रलाई व्यवस्थित, विश्वसनीय, मर्यादित र प्रतिष्ठापूर्ण बनाउन प्रेस स्वतन्त्रताको पूर्ण कार्यान्वयन हुनुपर्छ । संविधान र कानूनले स्थापित गरेको पूर्ण प्रेस स्वतन्त्रतालाई पालना गर्न/गराउन साथै गल्ती सच्याउने आमसञ्चार माध्यमको प्रतिबद्धतालाई सम्मान गर्नेतर्फ काउन्सिल सदैव सचेत एवं क्रियाशील छ,’ विज्ञप्तिमा भनिएको छ ।

काउन्सिलले सामाजिक सद्भाव बिगार्ने, घृणा तथा द्वेष फैलाउने र वैयक्तिक गोपनीयता प्रतिकूल सामग्री सम्प्रेषण नगर्न/नगराउन सञ्चार माध्यम, आम पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्ता लगायत सम्बद्ध सम्पूर्ण पक्षको गम्भीर ध्यानाकर्षण समेत गराएको छ ।