नेकपाको पत्रकार संगठनको नाम ‘प्रेस संगठन नेपाल’

नेकपाको पत्रकार संगठनको नाम ‘प्रेस संगठन नेपाल’


काठमाडौँ – नेकपा आवद्ध पत्रकारहरुको संगठन प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालबीच एकताका लागि गठन भएको कार्यदलले नाम टुंगो लगाएको छ।

बुधबार बसेको कार्यदलको बैठकले संगठनको अन्तरिम विधान–२०७५ लाई अन्तिम रुप रुप दिनुका साथै नामको पनि टुंगो लगाएको छ। एकतापछि बन्ने एकिकृत संगठनको नाम ‘प्रेस संगठन नेपाल’ अग्रेजीमा Press organisation, Nepal (PON) राख्ने निर्णय भएको बैठकपछि दुवै संगठनका महासचिवद्वारा जारी संयुक्त विज्ञप्तिमा जनाइएको छ।

विधानमा भएको व्यवस्थाअनुसार केन्द्रीय समितिमा अध्यक्ष र महासचिवसहित दुई सय २५, प्रदेश समितिमा अध्यक्ष र सचिवसहित एक सय २५, जिल्ला समितिमा अध्यक्ष र सचिवसहित ३५ तथा शाखा समितिमा अध्यक्ष र सचिवसहित ९ सदस्यीय हुनेछ ।

यसैगरी, अनुशासन आयोगका अध्यक्ष र सचिवसहित १५, १५ सदस्यीय संरचना हुनेछ । आगामी तीन दिनभित्र दुबै संगठनको केन्द्रीय कमिटी र आयोगमा रहने सदस्यको नाम सिफारिस हुनेछ ।

बैठकमा नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटिका सदस्य तथा प्रेस चौतारी, नेपालका इन्चार्ज योगेश भट्टराई, स्थायी कमिटिका सदस्य तथा प्रेस सेन्टर, नेपालकी इन्चार्ज पम्फा भुसाल, कार्यदलका सदस्य तथा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत र कार्यदल सदस्य तथा प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहालको उपस्थिति थियो ।