निजी अस्पतालमा ‘सिजेरियन’ डेलिभरी पाँच गुणाले बढ्यो

निजी अस्पतालमा ‘सिजेरियन’ डेलिभरी पाँच गुणाले बढ्यो


काठमाडौं- केही दिनअघि काठमाडौंकी सरिता मानन्धर (थर परिवर्तन) स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौंको मोडल अस्पताल पुगेकी थिइन् । उनको पेटमा आठ महिनाको बच्चा थियो । मोेडल अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराउँदा उनको शीररमा पानीको मात्रा ७.५ सिएम मात्रै देखियो । गर्भवती महिलामा पानीको मात्रा यति देखिनु भनेको गम्भीर समस्या हो ।

चिकित्सकले उनलाई बच्चामा समेत समस्या देखिने भन्दै तत्काल अप्रेसन गर्न सल्लाह दिए । चिकित्सकको सल्लाह विश्वास नलागेपछि उनी थापाथलीस्थित प्रसूतिगृह पुगिन् र स्वास्थ्य जाँच गराइन् । उनको शरीरमा १४.५ सिएम पानी देखियो भने बच्चाको अवस्था पनि राम्रो देखिएपछि उनी घर गइन्।

निजी स्वास्थ्य संस्थाले पैसा कमाउने नाममा अनावश्यक सुझाब दिएर अप्रेसन गर्न लागाउने गरेको मानन्धरले बताइन् । ‘बच्चामा समस्या छ, उल्टो बसेको छ, आमालाई जे पनि हुन सक्छ, अप्रेसनको समय लिइहाल्नुस्’ निजी अस्पतालका चिकित्सकले हरेक गर्भवती महिलालाई भन्ने भनाइ हो यो । शल्यक्रिया अर्थात् ‘सिजेरियन’ गरी बच्चा जन्माउने प्रचलन बढ्दै गएपछि सामान्य अवस्थामा रहेका गर्भवती महिला पनि विभिन्न बहानामा शल्यक्रियामार्फत बच्चा जन्माउन बाध्य भएकाे खबर अाजकाे नयाँ पत्रिकामा छ ।

‘सिजेरियन’ डेलिभरी दोब्बर वृद्धि
चालू आर्थिक वर्षमा उपत्यकामा जम्मा ३३ हजार ८०३ जनाको डेलिभरी भएको जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । ‘त्यसमध्ये १२ हजार १५९ जनाको शल्यक्रिया गरी बच्चा जन्माइएको छ,’ जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका तथ्यांक अधिकृत पुष्कर बिजुक्छेले भने, ‘उपत्यकामा ३६ प्रतिशत डेलिभरी शल्यक्रियाका माध्यमबाट भएको देखिएको छ, तर अस्पतालअनुसार फरक–फरक हेर्दा डेलिभरीको प्रतिशत अपत्यारिलो छ ।’

सरकारी स्वास्थ्य संस्थाको अवस्था सामान्य रहे पनि निजी अस्पतालको अवस्था भने दयनीय रहेको उनले बताए । निजी अस्पतालमा ‘सिजेरियन’ डेलिभरी पाँच गुणाले बढेको देखिएको बिजुक्छेले जानकारी दिए । उपत्यकाका एक हजार स्वास्थ्य संस्था जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंमा दर्ता भएका छन् । उनीहरूले उपलब्ध गराएको तथ्यांक हेर्दा आवश्यक मापदण्डभन्दा पाँच गुणा बढी डेलिभरी अप्रेसनका माध्यमबाट हुने गरेको छ । देशभरको समग्र तथ्यांक हेर्दा नेपालले आवश्यक टार्गेट पनि पूरा गरेको छैन । जम्मा सात प्रतिशत मात्रै डेलिभरी अप्रेसनका माध्यमबाट भएको देखिन्छ।

ओम, ग्रान्डी र बयोधामा धेरै हुन्छ शल्यक्रिया
सरकारले उपलब्ध गराएको तथ्यांकअनुसार सबैभन्दा बढी शल्यक्रिया ओम अस्पताल, ग्रान्डी अन्तर्रा्ष्ट्रिय अस्पताल र बयोधा अस्पतालमा हुने गरेको छ । उनीहरूले समयअगावै गर्भवती महिलालाई मानसिक रूपमा तयार रहन आग्रह गर्ने र नमाने समस्या आउने भन्दै सल्लाह दिने गरेको उनीहरूले गुनासो गरेका छन् । बिजुक्छेका अनुसार विश्व स्वास्थ्य संगठनको मान्यताअनुरूप बढीमा १५ प्रतिशत मात्रै अप्रेसन गर्न पाइन्छ । तर, नेपालमा त्यसको ठीक उल्टो छ ।

ग्रान्डी ८३ प्रतिशत, ओम ८७ प्रतिशत, बयोधा ९९ प्रतिशत र भ्याली मातृत्व अस्पताल तथा नर्सिङ होमले ८५ प्रतिशत अप्रेसन गरेका छन् । मन्त्रालयले ठूलो संख्यामा डेलिभरी गर्दा शल्यक्रिया गरेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ ।

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक डा. जागेश्वर गौतम निजी स्वास्थ्य संस्थाले नर्मल डेलिभरी गराएर जोखिम मोल्न नचाहेको बताउँछन् । ‘सरकारी अस्पतालमा कसैको मृत्यु भएमा क्षतिपूर्तिको कुरा आउँदैन,’ उनले भने, ‘तर निजी अस्पतालमा कसैको मृत्यु भए तोडफोड हुने भएकाले उनीहरूले शल्यक्रियाका माध्यमबाट बच्चा जन्माउने गरेका हुन् ।’ गौतमले सरकारीमा धेरै डेलिभरी भएकाले समय नपाएका कारण निजीमा जाने गरेको पनि सुनाए । ‘सबैले जबर्जस्ती शल्यक्रिया गर्छन् जस्तो मलाई लाग्दैन, तर केही डाक्टरले भने गर्न सक्छन्,’ उनले भने ।

ओम अस्पतालका कार्यकारी निर्देशक बाबुकाजी कार्कीले कुनै अस्पतालले गर्न नसकेको केस ओममा आउने भएकाले शल्यक्रियाको प्रतिशत धेरै देखिएको दाबी गरे ।

स्वास्थ्यमन्त्री अर्याल चिन्तित
स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले निजी स्वास्थ्य संस्थाको डेलिभरीको तथ्यांक उदेकलाग्दो भएको बताइन् । ‘विश्व स्वास्थ्य संगठनले एउटा मापदण्ड तय गरेको छ,’ उनले भनिन्, ‘यसको खिल्ली उडाउँदै निजी अस्पतालले सिजेरियन गरी बच्चा जन्माउने गरेको पाइयो, यसले मलाई गम्भीर भएर सोच्न बाध्य पारेको छ ।’ अर्यालले आफूले केही समय बुझेर यस विषयमा निर्णय लिने पनि बताइन् ।

‘सरकारीमा कम र निजीमा बढी हुनुपर्ने कुनै कारण छैन,’ मन्त्री अर्यालले भनिन्, ‘कतिपय गम्भीर अवस्थामा आएका हुन सक्छन्, जसले प्रतिशतमा बढी देखिएको हुन्छ । तर, सबै स्वास्थ्य संस्थामा नर्मलभन्दा ‘सिजेरियन’ गरी बच्चा जन्माउने प्रतिशत बढी हुनुले सरकारलाई सोच्न बाध्य पारेको छ ।’