सेवा निवृत्तहरूलाई एक ढिक्का बनाउँदै नेपाली सेना

सेवा निवृत्तहरूलाई एक ढिक्का बनाउँदै नेपाली सेना


काठमाडौ‌ – नेपाली सेनाले सेना निवृत्त पूर्व सैनिकहरूलाई जोड्ने र सधैँ साथमा नै रहेको महसुस गराउने कार्यलाई बढावा दिने सन्देश प्रवाह गरेको छ। सेवा निवृत्त भएका सैनिकहरुलाई राष्ट्रको सम्पत्तिकै रुपमा राख्नका लागि यो कार्यको थालनी गरिएको हो। अरू देशमा समेत यस्तो प्रचलन छ।

सेवाबाट निबृत्त भएका सैनिकहरुबाट प्रशिक्षणको दुरुपयोग हुन गएमा त्यसले असहजता समेत ल्याउने विषयलाई सेनाले ध्यान दिदैं सधै अनुशासनमा राख्ने र उनीहरुप्रति संगठन अभिभावक नै रहने खबर आजको कान्तिपुर दैनिकले छापेको छ। ‘शिक्षा, स्वास्थ्य र स्वस्रोजगार’ मुख्य नारा दिइएको यो सम्मेलनले सेनाबाट निवृत्त भएका सबै तहलाई जोडिराख्ने भन्ने नै हो । यही बाचा अनुरुप विभिन्न क्षेत्र हुँदै वर्तमान प्रधानसेनापतिको कार्यकालमा भूपू सैनिक सम्मेलन सम्पन्न भएको छ ।

सैनिक मंच टुंडिखेलमा पहिलो पटक १८ हजारभन्दा बढी भूपू सैनिकको जमघट गराएर सबै पूर्व सेनालाई साथमा लिएर अघि बढ्ने धारणा नेपाली सेनाले राखेको हो। प्रधानसेनापति राजेन्द्र क्षत्रीले सेनाले शिक्षा, स्वास्थ्य र स्वस्रोजगारमा लघुवित्त कार्यक्रमलाई प्राथमिकता दिदैं सबैलाई जोड्ने र आत्म निर्भर बनाउने यो अभियान निरन्तर रहनेछ बताए।

‘अवकाश प्राप्त सैनिक व्यक्तिहरुको अवकाश पछिको जीवनमा थप उर्जा ल्याउनको लागि आपसमा भेटघाट गर्ने, सुख दुःख बााड्ने, अपनत्वको भावना जागृत गराउने, एक अर्काको कुरा सुन्ने र राष्ट्र तथा नेपाली सेनाका लागि भुतपूर्व सैनिकहरुले गर्नुभएको समर्पणको यथोचित सम्मान गर्ने हाम्रो हेतु हो,’ प्रधानसेनापति क्षत्रीले भने, ‘हामी सधै एकै परिवार झै भएर रहुनपर्छ । एक अर्काको सुख दुखमा सहयोगी हुनुपर्छ।’

उपत्यका पृतना मातहतका काठमाडौं ललितपुर, भक्तपुर, काभ्रे र सिन्धुपाल्चोक जिल्लामा बसोबास गर्ने भूपू सैनिक र उनका परिवार शुक्रबार सेनाकै युनिफर्ममा टुडिखेलमा सहभागि भएका थिए । केही महिनादेखि मुलुकभर आरम्भ यो सम्मेलनको थालनी धनगढीमा भएको थियो । नेपालगञ्ज, सुर्खेत, बुटवल, खैरेनीटार, पोखरा, सिन्धुली, त्रिशूली, धनुषा, भरतपुर, इटहरी, हिले र गाईघाट हुदै शनिबार काठमाडौंमा कार्यक्रमको समापन भएको हो।

प्रधानसेनापतिको कार्यकाल सकिनै लाग्दा यस्तो सम्मेलन पनि सम्पन्न भएको हो । पछिल्लो समय प्रत्येक प्रधानसेनापतिले आफ्नो कार्यकालमा एक पटक मुलुकभर पूर्व सैनिकको सम्मेलन गर्ने नीति लिएको छ । विगतमा माओवादी द्वन्द्वको कारण लामो समय रोकिए यो कार्यक्रम पुन आवश्यक ठान्दै २०७० देखि तत्कालिन प्रधानसेनापति गौरब शमसेर राणाले पुनःथालनी गरेका हुन्।

मुलुकभर भुपु सैनिकको कुल संख्या ७० हजारभन्दा बढि रहेको तथ्यांक नेपाली सेनासँग छ । सम्मेलनका क्रममा पूर्व सैनिकको जीवनस्तर उकास्न सञ्चालन हुने लघुवित्त कार्यक्रमका लागि सहुलियत ब्याजदरमा ऋण प्रदान र स्वास्थ्य शिविरजस्ता सेवामूलक कार्यक्रम संचालन हुँदै आएका छन् । सम्मेलनका बेला सैनिक नेतृत्वबाट पूर्व सैनिकका गुनासो सुन्ने र त्यसलाई सम्बोधन गर्ने प्रचलन छ।

‘बहालवाला तथा भू।पू। सैनिक सबैलाई दृढ र एकता ढिक्का बनाउनेमा हामी सबै आआफ्नो स्थान बाट लाग्नुपर्छ । यसमा सेनाको नेतृत्व केन्द्रित रहेको छ,’ वलाधिकृत रथी पूर्णचन्द्र थापाले समापन गर्दै भने । भावि प्रधानसेनापतिको रुपमा रहेका थापाले यस्तो कार्यक्रमले निरन्तरता नेपाली सेनाले दिने स्पष्ट पारे।

भूपू सैनिकबाट बहालमा रहेकै झझल्को दिने गरी परेड तथा जिल्लागत रुपमा सांस्कृतिक झाँकी खुकुरी नृत्य, तेक्वान्दो कलाको प्रदर्शन गर्नुको साथै नेपाली सेनाको सैनिक व्याण्डले आफ्नो कला समेत प्रदर्शन गरिएको थियो।
पछिल्ला सम्मेलनमा सहभागीलाई सेनाले कल्याणकारी कोषमार्फत बाटो खर्च, औषधिसहितको प्याकेज तथा कम्बल उपलब्ध गराउँदै आएको छ।

यसअघि नै नेपाली सेनाले उमेरमा ९० नाघेका भूपु र १०० नाघेका भूपुलाई छुट्टै प्रकारको भत्ता समेत ब्यवस्था गरिसकेको छ । ‘कमाण्ड मार्ग निर्देशन, २०७२’ मा उल्लेख भए अनुसार कल्याणकारी कार्यक्रमको पहुँच बढाउने तर्फ काम भइरहेको पनि बताइएको छ।

नेपाली सेना कल्याणकारी बोर्ड र नेपाल ईन्भेष्टमेण्ट बैंकको सहकार्यमा सञ्चालित लघु वित्त कार्यक्रमका २५ जना ऋणीलाई चेक हस्तान्तरण गरेको थियो । अशक्त भूतपूर्व सैनिक र परिवारहरुलाई २५ व्हिल चियर वितरण गरेको थियो । कार्यक्रममा आगामी केही महिनामा सेवा निबृत्त हुनलागेका प्रधान सेनापति क्षत्रीलाई भुतपूर्व सैनिकहरुको तर्फबाट सम्मान गरिएको थियो।