पशुपति क्षेत्र मगन्तेमुक्त घोषितः २०८२ सालभित्र मुलुकलाई नै मगन्तेरहित बनाउने लक्ष्य

पशुपति क्षेत्र मगन्तेमुक्त घोषितः २०८२ सालभित्र मुलुकलाई नै मगन्तेरहित बनाउने लक्ष्य


काठमाडौं – पशुपतिनाथको दर्शनका लागि पाशुपत परिसर पुग्ने जोकोहीले अब सडकमा बसेर माग्ने ‘सडकमानव’ देख्नुपर्ने छैन। पशुपति क्षेत्र विकास कोषले त्यस्ता सहयोगापेक्षी मानिसलाई मानव सेवा आश्रममा पु¥याएर उत्कृष्ट जीवन यापनको व्यवस्था मिलाएपछि यस्तो अवस्था आएको हो।

पशुपतिनाथ मन्दिर क्षेत्रलाई मंगलबार मगन्तेरहित क्षेत्र घोषणा गरिएको छ। पछिल्लो समय मानसिक एवं शारीरिक रुपमा अनाथ र असहाय बनेर पाशुपत क्षेत्रमा रहेका एक सय ५२ मगन्तेलाई मानव सेवा आश्रममा पु¥याइएको हो। गाँस, बास र कपासजस्ता मौलिक अधिकार संविधानमै ग्यारेन्टी गरिए पनि सरकारले मानसिक एवं शारीरिक समस्याले सडकमा पुगेकाको व्यवस्थापन नगरिरहेको बेला पशुपति क्षेत्र विकास कोषले आश्रमसँगको सहकार्यमा यस्तो काम गरेको खबर आजको अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।

आश्रमका काठमाडौंमा रहेका गोंगबु र बुढानिलकण्ठका दुई घरको दुई वर्षको भाडा काठमाडौं महानगरपालिकाले तिर्ने सम्झौता गरिसकेको छ। संविधानको मर्म र भावना विपरित मुलुकभर सयौंको संख्यामा अनाथ खुला आकाशमुनि सडकपेटी र सार्वजनिक स्थलहरुमा घरपरिवारविहीन भई कष्टपूर्ण जीवन बिताउन बाध्य भइरहेको बेला पशुपतिनाथ क्षेत्रबाट मगन्तेरहित अभियानको थालनी भएको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री रविन्द्र अधिकारीले महत्वाकांक्षी यो योजना संभव हुन सके सबैका लागि खुसीको कुरो हुने बताए।पशुपतिनाथबाट मगन्तेरहित क्षेत्र घोषणा हुनु धेरै राम्रो कुरा भएको र यसलाई मुलुकभरका सबै मठमन्दिरबाट पनि मगन्तेरहित बनाउन सके नेपाल विश्वकै उत्कृष्ट नमूना पेश गर्न सफल हुने दाबी गरे।

आश्रम सुधार गृह बनोस् भन्दै उनले थपे, ‘मानव सेवा आश्रमले गरिरहेको काम सराहनीय छ, आश्रमले आध्यात्मिक र अन्य ज्ञान सिकाएर घर वा जागीरमा फर्काउने काम गरोस् सरकारको पूर्ण सहयोग हुनेछ।’ काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पाशुपत क्षेत्रलाई मगन्तेरहित घोषणा गरिरहँदा पशुपतिनाथका आँखाबाट खुसीको आँसु झरिरहेको हुनसक्ने बताए।

‘शारीरिक र मानसिक रुपले काम गर्न नसक्ने गरी अस्वस्थ्य भएकालाई महानगरपालिका सहयोगी बनेको छ मेरै कार्यकालभित्र काठमाडौं महानगरलाई मगन्तेमुक्त बनाउनेछु’, उनले भने। आश्रमले हालसम्म काठमाडौं, मकवानपुर, चितवन, ललितपुर, गोरखा, लमजुङ, कास्की र रुपन्देहीमा शाखा स्थापना गरी एक हजार भन्दा बढी अनाथलाई आश्रय दिइसकेको छ।

उनले भने, ‘२०८२ सालभित्र मुलुकभर कही पनि कोही सडकमा भेटिनेछैनन् भन्ने उद्देश्य राखेर काम अघि बढाएका छौं।’