कसरी रहलान् ‘एकै जंगलमा दुई शेर’ ?

कसरी रहलान् ‘एकै जंगलमा दुई शेर’ ?


काठमाडौँ — एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल मिलेर एउटै पार्टी बनाउने करिब टुंगो भएपछि स्वाभाविक रूपले भन्न थालिएको छ, ‘दुई शेर मिलेको कम्युनिस्ट पार्टी ।’ एउटा जंगलमा दुई शेर (सिंह) भए भने राज कसले चलाउने भन्ने विषयमा ठूलो लडाइँ हुन्छ ।

केही समय ठूलो सिकार गर्नुपर्‍यो भने एकआपसमा मिले पनि अन्तत : भागबन्डा मिलेन भने ठूलो लडाइँ हुन्छ । यही प्रश्न उठेको छ, ओली र दाहालबीच एकतापछि भागबन्डा मिलेन भने के होला ? ‘एउटै म्यानमा दुई तरबार रहलान् त ? एउटै जंगलमा दुई शेर रहलान् त ? भन्ने उखान पनि छ । यी सबै उखान र विगतका अनुभव छन् । हामीले असम्भव देखिने कुरालाई सम्भव बनाउनुपर्छ र मानव जातिलाई योगदान दिन सकिन्छ भन्ने बुझाएमा स्पष्ट छौं,’ दाहालले हालै अन्तर्वार्तामा भनेका छन् । के उनले भनेजस्तो एक म्यानमा दुई तरबार अट्लान वा एक जंगलमा दुई शेर कसरी मिलेर बस्लान् ?

ओली र दाहालबीच पाँच वर्ष सरकार चलाउनेबारे ‘प्याक्ट’ भएको छ । अनौपचारिक सहमतिअनुसार ओलीले तीन र दाहालले दुई वर्ष सरकार चलाउने कुरा भएको छ । पार्टी र सरकार आलोपालो प्रमुख हुने अनौपचारिक सहमति पनि सार्वजनिक भएको छ । यद्यपि प्रचण्डले सबै कुरा पार्टी एकतापछि हुने महाधिवेशनले तय गर्ने घुमाउरो जवाफ दिएका छन् । यसको अर्थ हो, आगामी महाधिवेशनमा दाहाल एकीकृत पार्टीको अध्यक्ष हुने अवस्थामा ओलीलाई पाँच वर्ष सरकार चलाउने मौका हुनेछ ।

सरकारलाई दिएको समर्थनलाई हेर्दा ओली २०४६ पछिकै शक्तिशाली प्रधानमन्त्री भएका छन् । एमाले र माओवादीको चुनावी तालमेल नभएको भए ओली र प्रधानमन्त्री यति शक्तिशाली अवस्थामा पुग्ने थिएनन् । त्यसकारण पनि ओली र प्रचण्डबीच अझै सहकार्य हुने देखिन्छ । वामपन्थीको हातमा बहुमतका साथ पहिलो पटक सरकार बनेको अवस्थामा यी दुई नेताबीच अब हुने सम्बन्धले आगामी नेपालको भविष्य निर्धारण गर्ने देखिन्छ । योसँगै नेपाली वामपन्थीको भविष्य पनि जोडिएको छ । अाजकाे कान्तिपुर दैनिकमा  गंगा बीसीले टिप्पणी लेखेका छन् ।

ओली र दाहाल एउटै पार्टीमा हुने भनेको एउटा जंगलमा दुई शेर भएजस्तै हो । आगामी दिनमा यी दुईको सम्बन्ध सबभन्दा महत्त्वपूर्ण हो । वामपन्थीको भविष्य बनाउने र बिगार्ने जिम्मा पनि यी दुई नेताको हातमा छ । खासगरी पार्टी एकतापछि यी नेताबीच हुने सम्बन्धले थप दिशा निर्धारण गर्ने छ । जस्तोस् सरकार र पार्टीको कार्य्विभाजन कसरी मिलाउने ? दुई पार्टीका प्रभावशाली नेतालाई कसरी व्यवस्थापन गर्ने ? पार्टीको आगामी कार्यदिशा कुन मोडेलको हुने ? सरकार सञ्चालनमा दुई पक्षको सन्तुलन कसरी गर्ने ?

विगतको इतिहास हेर्ने हो भने नेपालका कम्युनिस्ट पार्टी गुट, उपगुटले बिग्रिएका छन् । त्यस्ता गुट र उपगुट अहिले पनि छन् । जसका कारण पार्टी विभाजनसम्म भएका छन् । एमाले र माओवादीको एकतापछि गुटको अन्त्य गर्नु असम्भव प्रायस् जस्तो देखिन्छ । अहिले एमालेमा स्पष्ट दुई र माओवादीमा स्पष्ट दुई गुट छन् ।

पार्टी एकता भएपछि चार गुट मिलेर एक पार्टी हुनेछ । त्यसबेला दुई गुट बढी शक्तिशाली हुने छन्, पूर्वएमाले गुट र पूर्वमाओवादी गुट वा पक्ष । पार्टी एकता भइसकेपछि दुवै गुटले आआफ्नो अस्तित्व खोज्ने छन् । जस्तो हाल पनि एमालेभित्र पूर्वमाले, ओली र माधव नेपाल गुट जीवितै छ । यी दुई नेताबीच उचित जिम्मेवारी बाँडफाँट मिलेन एउटै जंगलमा दुई शेरको लडाइँ जस्तो हुनेछ । त्यसबेला एकले अर्को अस्तित्व निषेध गर्ने अवस्थामा पुग्ने छन् ।

केही समयअघि सम्पन्न भएका निर्वाचनमा ओली र प्रचण्डले जसरी पार्टी ‘कमान्ड’ सम्हाले, त्यो प्रभावकारी रह्यो । एक दुई निर्वाचनबाहेक वाम उम्मेदवारप्रति विश्वासघात भएन । यी दुई नेताको मुख्य विशेषता नै पार्टीलाई एक आदेशले चलाउने हो । एक प्रकारले भन्ने हो भने दुवै नेताले पार्टी्भित्र ‘आफ्नो निर्णय’ चलाएर पार्टीलाई सफलतातिर लगेका छन् । ‘यी दुई व्यक्ति (दाहाल र ओली) मात्र होइनन्, आन्दोलन, इतिहास र जनताले निर्माण गरेका संस्थाजस्ता हुन् ।

यदि त्यो अथोरिटी हुँदैनथ्यो भने दुइटा नेताले सही गरेर लाखौं मान्छे एकतामा लाग्दैनथे । त्यो अथोरिटी भएको हुनाले वर्षौं संघर्षको केन्द्रीकरण भएको हुनाले यो सम्भव भयो भनेर बुझ्नुपर्छ,’ दाहालले पार्टी एक हुनुको कारण यसरी खुलाए । यी नेता स्वयं पार्टी जस्ता छन् । जे चाह्यो त्यहो निर्णय गर्न सक्ने शक्तिमा पुगेकाले पनि पार्टी एकताका लागि अघि बढ्न सहज बन्यो ।

संघ र प्रदेशको चुनावअघि तालमेल र पार्टी एकता घोषणा यी दुई नेताको ‘बोल्ड’ निर्णय थियो । अरू जबकि त्यसअघि कांग्रेससँग सहकार्य गरिरहेको माओवादी युटर्न भएर एमालेसँग मिल्नु ‘सरप्राइज’ थियो । उनीहरूले गोप्य सहमति गरेपछि एकैचोटि तालमेल र पार्टी एकता घोषणा सार्वजनिक गरे ।

एमाले र माओवादी एकता हुनुमा मुख्यगरी दुई कारण छन्– पहिलो, दुई पार्टी अलग हुँदा चुनावमा बहुमत आउने सम्भावना कहिलै नआउने देखियो । वाम बहुमतको सरकारका लागि यी दुई पार्टी एक हुनु बाध्यता बन्यो । दोस्रो, दुई पार्टीको तत्कालीन कार्यनीति र दीर्घकालीन रणनीति मिल्न गयो । शान्तिपूर्ण प्रतिस्पर्धासहित आर्थिक समृद्धि तत्कालीन कार्यनीति तय गरे । आर्थिक समृद्धिमा टेकेर समाजवादको बाटो लिने नीति यी पार्टीको छ । पार्टी मिल्दा ‘दुवै हातमा लड्डु’ हुने अवस्था आएपछि कुनै बेला अलगअलग धार लिएका एमाले–माओवादी चुनावको मुखमा एकताबद्ध हुने निर्णयमा पुगे ।

यसले खासगरी ओली र प्रचण्डलाई शक्तिशाली नेताका रूपमा देखाउनुका साथै केन्द्रीय सरकारसहित ६ प्रदेश चलाउने ठूलो अवसर मिल्यो । करिब दुई तिहाइ बहुमतको केन्द्रीय र प्रदेश सरकारबाट मुलुकमा समृद्धिको जग बसाल्ने मौका छ, त्यो मौकासामु ठूलो चुनौती छ । मुलुकको अर्थतन्त्र कमजोर भएका बेला सत्तासीन भएका एमाले–माओवादीलाई आर्थिक वृद्धिको चुनौती ‘काँडेघारीको यात्रा’ हो । यसलाई एमाले र माओवादीका दुई ‘शेर’ ओली–दाहाल कसरी अघि बढ्लान् ? यसको संकेत देखिन अबको केही महिना कुर्नैपर्ने हुन्छ ।