डाक्टरको लाइसेन्स परीक्षामा मोबाइल जामर, कलम पनि काउन्सिलकै

डाक्टरको लाइसेन्स परीक्षामा मोबाइल जामर, कलम पनि काउन्सिलकै


काठमाडौ‌ – नेपाल मेडिकल काउन्सिलले चिकित्सक लाइसेन्स परीक्षामा सम्भावित अनियमितता रोक्न मोबाइल जामर प्रयोग गरेको छ।परीक्षा मर्या्दित तुल्याउन भन्दै काउन्सिलले पहिलोपटक परीक्षा केन्द्रमा मोबाइल नचल्ने प्रविधि अपनाएको हो।शनिबार लिइएको उक्त परीक्षा केन्द्रमा परीक्षार्थीलाई कलम र घडी लैजानसमेत निषेध गरिएको थियो।

उनीहरूलाई काउन्सिलले नै कलम उपलब्ध गराएको छ। परीक्षामा एमबीबीएस गरेका १ हजार ६ सय ३८ र बीडीएस गरेका ३ सय ५ जना गरी १ हजार ९ सय ४३ जना सहभागी छन्। नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान, कलेज अफ मेडिसिन, भण्डारखालमा शनिबार लिइएको परीक्षामा तीनवटा मोबाइल जामर प्रयोग गरिएको खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

‘नेपाल टेलिकम एवं प्रहरीको समन्वयमा तीनवटा मोबाइल जामरलाई लाइसेन्स परीक्षामा पहिलोपटक प्रयोग गरिएको हो,’ प्रवक्ता कृष्ण अधिकारीले भने, ‘प्रविधि प्रयोगबाट हुन सक्ने सम्भावित अनियमितता रोक्न जामर प्रयोग गरिएको हो।’ परीक्षा केन्द्रमा मोबाइल, क्यालकुलेटर, स्मार्ट घडीलगायत कुनै प्रकारको इलेक्ट्रोनिक साधन ल्याउनसमेत निषेध गरिएको थियो । ‘कुनै खास प्रकारका कलममा उच्च प्रविधि प्रयोग गरी अनियमितता हुन सक्ने भएकाले हामी आफैंले कलम दिएका हौं,’ अधिकारीले भने।

उनका अनुसार विशेष क्षमता भएका कलमसमेत अन्य सामान्य कलमजस्तै देखिने भएकाले जोखिम नलिइएको हो। सामान्यजस्तै देखिने घडीमा उपलब्ध सुविधाले सहजै अनियमितता गर्न सकिने देखिएकाले त्यसलाई समेत परीक्षामा निषेध गरिएको हो। यसअघि चिकित्साशास्त्र अध्ययन संस्थानले लिएका एमबीबीएसरबीडीएसको प्रवेश परीक्षामा समेत मोबाइल जामर प्रयोग गरिएको थियो।