मन्त्रीहरू फेरबदल हुन सक्लान् तर सरकार रहिरहन्छ : प्रवक्ता गुरुङ

मन्त्रीहरू फेरबदल हुन सक्लान् तर सरकार रहिरहन्छ : प्रवक्ता गुरुङ


काठमाण्डु – सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुक संकटमा पर्दा नेपालका ठूला दल नेकपा एमाले र नेपाली कांग्रेस सधैं एकजुट भएर निकास दिँदै आएको स्मरण गरेका छन् ।

लमजुङको राइनास नगरपालिका–८ तार्कुघाटस्थित वीरभक्ति माध्यमिक विद्यालयको ५७औं वार्षिकोत्सव तथा ५१औं अभिभावक दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धन सरकार ढलिहाल्छ कि भन्ने भ्रमबाट मुक्त हुन आग्रह गरे ।

‘तपाईंहरूलाई धेरै भ्रम फैलाइएको छ होला कि सरकार फेरिन्छ भनेर । मन्त्रीहरू फेरबदल हुन सक्लान् तर कांग्रेस र एमालेको सरकार रहिरहन्छ,’ उनले भने ।

प्रधानमन्त्री केपी शर्मा ओली २ वर्ष प्रधानमन्त्री भएपछि कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने उनले बताए । गठबन्धन सरकारबीचको समझदारीमा तलमाथि नहुने उनले बताए ।

उनले भने, ‘हाम्रो यो गठबन्धनको सरकार तीनै वर्ष चल्छ । विक्रम संवत् २०८४ सालको चुनाव सम्पन्न गरेर मात्रै यो सरकार आ–आफ्नो बाटो लाग्छ ।’ नेपालमा अस्थिरता ल्याउन चाहने शक्तिहरूले सरकारको उद्देश्य बिथोल्न जनतामा भ्रम छर्दै गरेको बताउँदै उनले त्यस्ता भ्रममा नपरी वर्तमान सरकारप्रति विश्वस्त हुन जनतासमक्ष आग्रह गरेका छन् ।

सबै पालिका र वडामा इन्टरनेट सुविधा र टेलिफोनको व्यवस्था पुर्‍याउने कार्य गर्दै सञ्चारमन्त्री गुरूङले पुराना कानून र ऐन संशोधन गर्ने, सामाजिक सञ्जाल नियमन ऐन, साइबर सुरक्षा ऐन, शिक्षा ऐन लगायत थुप्रै नयाँ ऐन ल्याउन लागिएको बताए ।