काठमाण्डु – सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले रहरले नभई आवश्यकताले अध्यादेश ल्याएको स्पष्ट पारेका छन् ।
नेपाल मगर संघले मंगलबार काठमाण्डुको टुँडीखेलमा आयोजना गरेको माघे संक्रान्ति पर्वको उद्घाटन गर्दै उनले जनतालाई छिटोछरितो सेवा प्रदान गर्न अध्यादेश जरूरी रहेको बताए ।
उनले नेपालमा विकासका काममा अवरोध सिर्जना गर्ने थुप्रै जटिल कानूनी प्रक्रिया रहेका र प्रक्रियागत कानून बनाउन ६ वर्षभन्दा बढी समय लाग्ने गरेको बताए । उनले भने, ‘यसरी कानूनी प्रक्रियामै अल्झिँदा विकासमा अड्चन आइरहेको छ । यसले जनताको सेवामा बाधा पुग्नाका साथै मुलुकको विकासमा अवरोध सिर्जना हुँदै आएको थियो,’ उनले भने, ‘त्यसैकारण जनतालाई सेवा सुविधा दिने कुरामा सहज होस् भनेर सरकारले अध्यादेश ल्याएको हो ।’
मन्त्री गुरुङले अध्यादेशले सूचना प्रविधि (आईटी) सम्बन्धी व्यवसाय गर्नेहरूलाई सहज वातावरण सिर्जना गर्ने र विदेशी कम्पनीसँग ऋण लिन पाउने व्यवस्थाले व्यवसायको विकासमा प्रोत्साहन मिल्ने बताएका छन् ।
प्रतिक्रिया