सञ्चारमन्त्री गुरुङको ‘जिब्रो थुतिदिन्छु’ भन्‍ने अभिव्यक्तिको सर्वत्र आलोचना

सञ्चारमन्त्री गुरुङको ‘जिब्रो थुतिदिन्छु’ भन्‍ने अभिव्यक्तिको सर्वत्र आलोचना


काठमाण्डु – सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवरको ‘आईजीपीको जिब्रो थुत्नुपर्ने’ अभिव्यक्तिको सर्वत्र आलोचना भएको छ । शनिबार पोखरामा पत्रकार सम्मेलनमा मन्त्री गुरुङले संघीय प्रहरी ऐन ल्याउन प्रहरी महानिरीक्षकले अस्वीकार गरेको आरोप लगाउँदै ‘आईजीपीको जिब्रो थुत्नुपर्ने’ अभिव्यक्ति दिएपछि उनको आलोचना भइरहेको हो ।

नेपाल प्रहरीका पूर्वमहानिरीक्षकहरूले विज्ञप्ति जारी गरेर मन्त्री गुरुङको अभिव्यक्तिको विरोध गरेका छन् भने प्रतिनिधि सभाको आजको बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरूले आलोचना गरेका छन् । कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य शंकर भण्डारीले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्माओलीलाई मन्त्री गुरुङलाई बर्खास्त गर्न माग गरेका छन् ।

प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद मनीष झाले सरकारका प्रवक्ता गुरुङले प्रहरी संगठनका प्रमुखले बोल्दा ‘जिब्रो थुतिदिन्छु’ भन्छन् भने अरुको वाक स्वतन्त्रता कहाँ होला भन्दै प्रश्न गरे । ‘लोकतन्त्रको पाँचवटा आधारभूत सिद्धान्तमध्ये पहिलो फ्रिडम अफ एक्सप्रेसन हो । प्रहरी संगठनका प्रमुखले सांगठनिक चुनौती अभिव्यक्त गर्नुभयो भने सरकारका प्रवक्ता तथा मन्त्रीले जिब्रो थुतिदिन्छु भनेर भन्छन् भने कहाँको वाक् स्वतन्त्रता र कहाँको लोकतन्त्र ?’ झाले भने, ‘त्यही दलका पाका अग्रजहरूले मन्त्री गुरुङलाई सभ्यता सिकाउनुहुन्छ भने अनुरोध छ । आफ्नै मन्त्रिपरिषद्को मन्त्रीलाई पहिला सिकाउनुस् ।’

प्रतिनिधि सभा बैठकमा सत्तासाझेदार दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संघीय र प्रदेश मन्त्रीका अभिव्यक्तिमाथि गम्भीर प्रश्न उठाए । सञ्चारमन्त्री गुरुङ र गण्डकी प्रदेश सरकारका वनमन्त्री राजीव गुरुङ (दीपक मनाङे)का अभिव्यक्ति आपत्तिजनक भएको बताए ।

‘म सत्तापक्षकैै सांसद हुँ सभामुख महोदय । तर, माननीय सूचना तथा सञ्चारमन्त्रीज्यूले नेपाल प्रहरीको आइर्जीको जिब्रो थुत्नुपर्छ भनेर अभिव्यक्ति दिनुभएछ,’ खतिवडाले भने, ‘यो अभिव्यक्ति आपत्तिजनक छ । मन्त्रीहरूलाई अनुरोध गर्न चाहन्छु– जिब्रोमा ब्रेक लगाइयोस् ।’

मन्त्रीहरूका बोली ‘ठिक’ हुनुपर्नेमा उनले जोड दिए । ‘अन्त कहाँकहाँ लगाउनुपर्ने हो ब्रेक लाग्दै गर्ला । तर, मन्त्रीहरूको जिब्रोमा ब्रेक लाएर बोल्ने गरियोस्,’ खतिवडाले भने ।

सांसद खतिवडाले ‘गण्डकी प्रदेशमा मन्त्री पद बिक्रीमा रहेको’ भन्ने विषय पनि उठान गरे ।

यता पूर्वप्रहरी प्रमुखहरूले सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङलाई कारबाही गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष माग गरेका छन्। पूर्वप्रहरी संगठन प्रमुख मञ्चले मंगलबार विज्ञप्ति जारी गर्दै गुरुङले प्रहरी महानिरीक्षकको जिब्रो थुत्नु पर्ने भनी दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाउँदै कारबाही माग गरेका हुन्।

‘प्रधानमन्त्रीसमक्ष मन्त्री गुरुङको असंवेदनशील अभिव्यक्तिलाई संज्ञानमा लिई आवश्यक कारबाही गर्नु हुन पनि अनुरोध गर्दछौँ’, मञ्चको विज्ञप्तिमा लेखिएको छ।

पदीय हैसियत नै बिर्सिएर मन्त्री गुरुङले दिएको अभिव्यक्तिले उनी प्रहरीको नजरमा गिरेको टिप्पणी पूर्व प्रहरी प्रमुखहरूको छ ।

कांग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य शंकर भण्डारीले सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई पदबाट बर्खास्त गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेका छन् ।

‘देशको शान्ति सुरक्षा कायम गर्ने जिम्मा लिएको प्रहरी संगठनको प्रमुखलाई नेपाल सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्रीबाट सार्वजनिक अपशब्द व्यक्त भएकोमा मैले त्यसको घोर भर्त्सना गर्दै प्रधानमन्त्रीले सञ्चारमन्त्रीलाई बर्खास्त गर्न आह्वान गर्दछु,’ भण्डारीले विज्ञप्ति जारी गर्दै आग्रह गरेका छन् ।

उनले शान्ति सुरक्षामा भविष्यमा कुनै तलमाथि भए त्यसको जिम्मेवार स्वयं सरकार र प्रधानमन्त्री हुने उल्लेख गर्दै थप लेखेका छन्, ‘सरकारमा भएका वा जिम्मेवार व्यक्तिले सत्यतथ्य बङ्ग्याएर समाजमा वितृष्णा फैलाउने र पार्टी–पार्टीबीच सम्बन्ध बिगार्ने कार्य नगर्न सबैलाई अनुरोध गर्दछ ।’

प्रहरी समायोजनमा असहयोग गरेको भन्दै उनले प्रहरी महानिरीक्षक कुँवरको जिब्रो थुत्नुपर्ने अभिव्यक्ति दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सचेत गराएका थिए । सरकारको प्रवक्ता भएकाले बोल्दा ध्यान पु¥याउन प्रधानमन्त्री ओलीले गुरुङलाई सचेत गराएका थिए । गुरुङलाई ओलीले आइन्दा त्यस्ता अभिव्यक्ति नदिन पनि भनेका थिए ।