मन्त्रालयअन्तर्गतका सबै निकाय र विभागमा ९० प्रतिशतभन्दा बढी खर्च गर्न निर्देशन

मन्त्रालयअन्तर्गतका सबै निकाय र विभागमा ९० प्रतिशतभन्दा बढी खर्च गर्न निर्देशन


काठमाण्डु–सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चालु आर्थिक वर्षमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको पुँजीगत खर्च वृद्धि गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । उनले मन्त्रालयअन्तर्गतका सबै निकाय र विभागमा ९० प्रतिशतभन्दा बढी खर्च गर्न निर्देशन दिएका हुन्।

मन्त्रालयमा आज आयोजित गत आर्थिक वर्ष २०८०–८१ का कार्य प्रगतिबारे समीक्षा कार्यक्रममा बोल्दै मन्त्री गुरुङले विषयगत मन्त्रालयको पँजीगत खर्च हुन नसक्नु अहिलेको मुख्य चुनौती रहेको बताए । “जुन देशमा पुँजीगत खर्च गर्न सकिँदैन, त्यस्तो देशमा विकासको सम्भावना कम हुन्छ”, उनले भने, “यो वर्ष हामीले खर्च गर्ने सामर्थ्रय बढाउँछौँ ।”

उनले विकासका अवरोधका रुपमा पुराना ऐन, कानुन र नीति रहेको उल्लेख गरे । आवश्यकताभन्दा बढी कर्मचारी भर्ना गर्नुले पनि कार्यप्रगतिमा अवरोध भएको उनको भनाइ थियो । सेवामा खटिने कर्मचारीलाई प्रोत्साहन गर्ने र अनावश्यक निकाय कटौती गर्नुपर्नेमा उनले  जोड दिए ।

कार्यक्रममा प्रस्तुत प्रगति विवरण सुनेपछि मन्त्रालयअन्तर्गतका निकाय र विभागीय प्रतिनिधिसँग मन्त्री गुरुङले राजस्व बढाउनेतर्फ ध्यान दिन निर्देशन दिए ।

कार्यक्रममा मन्त्रालयका सचिव राधिका अर्यालले सरकारको डिजिटल दशक बनाउने लक्ष्य पूरा गर्न सबै कर्मचारीबीच सहकार्यको अपेक्षा रहेको बताए। कार्यक्रममा मन्त्रालयअन्तर्गतका निकाय, विभागीय प्रतिनिधि र सरोकारवाला मन्त्रालयका प्रतिनिधिको उपस्थिति रहेको थियो ।