पृथ्वी र त्रिभुवन राजमार्ग अवरुद्ध, नारायणगढ-मुग्लिङ सडक भासियो

पृथ्वी र त्रिभुवन राजमार्ग अवरुद्ध, नारायणगढ-मुग्लिङ सडक भासियो


काठमाण्डु-अविरल वर्षाका कारण पृथ्वी राजमार्गका तीन ठाउँमा पहिरो गएको छ । पहिरोले पृथ्वी राजमार्ग पूर्णरुपमा अवरुद्ध बनेको छ भने त्रिभुवन राजपथको सिस्ने खोलाको लेदो पन्छाइएको भए पनि लगातारको वर्षाले सवारी सुचारु हुन सकेको छैन ।

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको जोगिमारा, सलाङघाट, गल्छीको चिरौँदी र काठमाडौँ नजिकै त्रिभुवन राजपथ अन्तर्गत नौबिसे–नागढुङ्गा सडकको झ्याप्ले खोलामा पहिरो खसेको छ । अन्य स्थानमा पहिरो खस्ने र पन्छाउने क्रम जारी छ । पहिरोको कारण राजमार्ग पूर्ण रूपमा बन्द छ ।

राजमार्गमा पहिरोको जोखिम भएकाले प्रहरीले सवारी साधनलाई सुरक्षित स्थानमा रोकेर बस्न आग्रह गरेको छ ।

वर्षाताका कारण धादिङका अधिकांश ग्रामीण सडक पनि अवरुद्ध छन् । त्रिसूली, आँखु, बुढीगण्डकी लगायतका नदी तथा खोलामा पानीको बहाव बढेको छ ।

डिभिजन सडक कार्यालयले नारायणगढ मुग्लिन सडक दबेको हुँदा ठूला गाडी आरपार हुन नसक्ने जानकारी गराएको छ ।

त्यसैगरी पृथ्वी राजमार्गको इच्छाकामना गाउँपालिका–४ घोप्टेभीरमा शनिबार पहिरो खसेर बाटो पुर्णरूपमा अवरूद्ध भएको चितवन जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यसबाहेक पनि पृथ्वीराजमार्गको चितवन खण्डमा इच्छाकामना–३ को मौवा खोला, दति खोला र पानीधारामा पनि पहिरोले बाटो पूर्णरूपमा अवरूद्ध गरेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

इच्छाकामना– ३ स्थित मौवाखोला, दतिखोला र पानिधारा र वडा नम्बर– ४ को घोप्टेभीरमा माथिबाट खसेको पहिरोले पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध गरेको हो।

नारायणगढ–मुग्लिङ सडकको नौ किलोमा २ फिटसम्म भासिएको छ । अझै भासिने क्रम जारी रहेको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ । सोही स्थानमा जुगेडीदेखि मुग्लिनतर्फ आउँदै गरेको प्र.३–०१–०२४च ३०५६ नम्बरको बलेरो जिप जमिन भासिएको छ ।