काठमाडौं – प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री बिजय यादवले उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव बिद्यानाथ झालाई कुटपिट गरेको विषयमा कर्मचारी ट्रेड युनियनले विरोध गरेको छ ।
आइतबार भएको घटनालाई लिएर सोमबार धनुषा र महोत्तरीका विभिन्न ९ वटा ट्रेड यूनियनले सचिव झालाई थप्पड हानेको घटनाको घोर भत्र्सना गर्दै सशक्त आन्दोलनको चेतावनी दिएका हुन् । मन्त्री यादवले आफ्नै कार्यकक्षमा बोलाएर सचिवलाई मुक्का प्रहार गरेका थिए । मुक्का प्रहारबाट घाइते भएका सचिव झा स्थानीय अस्पतालमा उपचाररत छन् ।
ट्रेड युनियनका अध्यक्ष पुण्य प्रसाद ढकालले एक विज्ञप्ति जारी गर्दै उक्त घटना प्रति खेद प्रकट गरेका छन् । मुलुक भरका कर्मचारीहरुको नेतृत्वकर्ता रहेका अध्यक्ष ढकालले गल्ति गरेको भए कारबाही गर्ने कानुनी बाटो हुँदाहुँदै मन्त्रीले सचिव कुट्न नपाउने प्रतिक्रिया दिए ।
युनियनले सुरक्षाको गर्दै आज मुख्यमन्त्री लालबाबु राउत र धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेललाई ५ बुँदे ज्ञापनपत्र बुझाएको छ । उनीहरुले दोषीलाई कार्वाहीको माग गर्दै २४ घण्टे अल्टिमेटम समेत दिएका छन् । युनियनले २४ घण्टाभित्र सचिव झालाई उचित स्वास्थ्य उपचार गर्न र घटनाको न्यायिक छानविन गर्न माग गरेका छन् । घटनामा संलग्न जो कोही दोषी उपर नियमानुसार सख्त कारवाही गर्न तथा पीडित कर्मचारीले तत्काल न्याय दिलाउन समेत प्रदेश सरकारसँग माग गरिएको छ ।
मधेशी निजामती ट्रेड युनियनका महासचिव बेचनकुमार महतोले २४ घण्टाभित्र मागहरु न्यायोचित रुपमा सम्बोधन नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिइएको बताए । यता, मुख्यमन्त्री राउतले पनि कर्मचारीहरुसँग छलफल गर्दै कुनै पनि किसिमको आन्दोलनका कार्यक्रम नगर्न आग्रह गरेका छन् । मुख्यमन्त्री राउतको आग्रहलगत्तै कर्मचारीहरुले तय गरेको कालोपटी बाँधेर काम गर्ने कार्यक्रम स्थगित गरेका छन् ।
यता,निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन, नेपाल निजामती कर्मचारी संगठन र नेपाल राष्ट्रिय कर्मचारी संगठनले सोमबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई ज्ञापन–पत्र बुझाउँदै सचिव झामाथि कुटपिट गर्नेमाथि कडा कार्वाही गर्न माग गरेका छन् ।
आफुले भनेको गैरसरकारी संस्थालाई कार्यक्रम नपारेको भन्दै प्रदेश नम्बर २ का मन्त्री यादवले आफ्नै कार्यकक्षमा बोलाएर उद्योग, पर्यटन तथा वन मन्त्रालयका सचिव विद्यानाथ झालाई थप्पड हानेका थिए ।
प्रतिक्रिया