दुई नम्बर प्रदेशमा चलखेल गर्नेहरुको दिन समाप्त : अध्यक्ष प्रचण्ड

दुई नम्बर प्रदेशमा चलखेल गर्नेहरुको दिन समाप्त : अध्यक्ष प्रचण्ड


पोखरा – नेपाल कम्यनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई नम्बर प्रदेशमा चलखेल गरेर मधेश छुट्छ कि भन्ने डर समाप्त भएको बताएका छन्।

पुर्व प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष प्रचण्डले दुई नम्बर प्रदेशलाई बाँकी प्रदेशको स्थितीभन्दा अलग गरेर चलखेल गर्दै केन्द्र सरकारलाई अस्थिर बनाउने प्रयास भएकाले संघीय समाजवादी फोरमलाई केन्द्र सरकारमा ल्याएर समाप्त पारेको बताए ।

उनले फोरम सरकारमा आएसँगै दुईतिहाई बहुमत पुगेको बताउंदै केन्द्र सरकारकै प्रभावमा प्रदेश दुईमा सरकार बन्ने बाटो खुलेको दाबी गरे । दुई नम्बर प्रदेशलाई बाँकी प्रदेशहरुको स्थिति भन्दा अलग गराउने र त्यहाँ चलखेल गरेर सरकारलाई अस्थीर बनाउने कसैले सपना देखेको कारण त्यसको ढोका बन्द गरिएको बताए ।

उनले अहिलेको निर्वाचन प्रणाली खर्चिलो भएकाले त्यसको विकल्पबारे छलफल भएको समेत बताएका थिए । नेपालको निर्वाचन प्रणाली निकै खर्चिलो भएको भन्दै अध्यक्ष प्रचण्डले कमखर्चिलो र सवसाधारणले पनि निर्वाचन लड्न सक्ने खालको निर्वाचन प्रणाली अपनाउनुपर्ने धारणा राखे ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले एमाले–माओवादीको पार्टी एकताले अन्तर्राष्ट्रिय हिसावमै धरापमा परेको कम्युनिष्ट आन्दोलनलाई जोगाएको बताए ।उनले विश्वबाटै हराउन लागेको कम्युनिष्ट आन्दोलनलाई नेपालको पार्टी एकीकरणले नयाँ उमंग संचार भएको बताउनुभयो ।

‘अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन धरापमा परेको अवस्थामा नेपालमा एकीकरण हुदाँ फरक तरगं पैदा भएको छ । यसले देशभित्र र बाहिर सबैतिरबाट भिन्न अपेक्षा छ, उनले भने–हाम्रो एकीकरणले कम्युनिष्ट आन्दोलनको भविष्य उज्वल छ भन्ने सन्देश नेपालबाट गएको छ ।’ उनले अबका दिनमा राजनैतिक कारणले विकास नरोकिने विस्वास समेत व्यक्त गरेका थिए ।