काठमाण्डु- राजावादी समूहले गरेको आन्दोलनका क्रममा पत्रकार सुरेश रजक मारिएको र सञ्चार माध्यममाथि आक्रमण भएको विरोधमा नेपाल पत्रकार महासंघले माइतिघरमा विरोध सभा गरेको छ ।
शुक्रबार तीनकुनेमा भएको आन्दोलनमा एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजकको मृत्यु भएको थियो भने केही सञ्चारगृहमा तोडफोडसमेत भएको थियो ।
पत्रकार महासंघको स्थापना दिवस शनिबार परेको छ । तर महासंघले पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेर विरोध प्रदर्शन गरेको हो ।
पत्रकारमाथिको हिंसात्मक आक्रमणको भर्त्सना, पेशागत सुरक्षाको ग्यारेन्टी, सुरेश रजकका हत्यारालाई कारबाही तथा प्रेस स्वतन्त्रताको ग्यारेन्टीको माग गरिएको छ ।
पत्रकार महासंघको अगुवाइमा मृत्यु भएका पत्रकार रजकप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।
प्रतिक्रिया