काठमाण्डु – सरकारले आजदेखि लागू हुनेगरि सार्वजनिक सवारीमा रुट परमिट खुला गरेको छ ।
दशैं, तिहार र छठ पर्वका लागि आ–आफ्नो घर जान चाहने यात्रुलाई लक्षित गरी सरकारले आज (सोमबार) बाट देशभर लागू हुने गरी ‘रुट परमिट’ खुला गरेको हो । यो व्यवस्था असोज २३ गतेसम्म रहनेछ ।
यातायात व्यवस्था विभागले कुनै बाटोको विशेष प्रकृतिका कारण निषेध गरिएका आकार र प्रकारका सवारीसाधनमा भने बन्देज कायम रहने जनाएको छ । दशैँका समयमा बर्सेनि काठमाण्डु उपत्यकाबाट ठूलो संख्यामा यात्रु बाहिरिने गरेका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले गत वर्ष १० लाख यात्रु काठमाण्डु उपत्यकाबाट बाहिरिएकामा यस वर्ष त्यो संख्या २० लाख पुग्नसक्ने बताए ।
काठमाण्डुबाट मात्रै होइन उपत्यका बाहिरका क्षेत्रीय शहरबाट र जिल्ला सदरमुकामबाट पनि धेरै यात्रु आ–आफ्नो घर जाने गरेका छन् । कतिपय यात्रु काठमाण्डु बाहिरबाट उपत्यका भित्रने भए पनि त्यो संख्या कम छ । उनले भने, ‘यहाँबाट भरिएर गएका गाडी खाली जस्तै फर्कन पर्छ ।’
सबै क्षेत्रले यात्रुबाहक सवारीसाधनलाई पहिलो प्राथमिकतामा दिएर त्यसपछि मात्रै निजी र मालबाहक सवारीसाधनलाई दिनुपर्ने उनले बताए । अति आवश्यक पर्ने सामान ल्याउने बाहेक १८ र २० चक्के सवारीसाधन चल्न पाउने छैनन् ।
विभागले १५ गतेबाट २२ गतेसम्म नारायणगढबाट काठमाडौँसम्म सञ्चालन गर्न रोक लगाउने निर्णय गरेको छ । यस वर्ष नयाँ सवारीसाधन नआएकाले हाल भएकालाई व्यवस्थापन गर्ने वरिष्ठ उपाध्यक्ष सिटौलाले बताए ।
कतिपय यात्रु यो महिनाको शुरुदेखि नै जान थालेका छन् भने यो संख्या आजदेखि अझै बढ्ने अनुमान गरिएको छ । सबैभन्दा बढी चाप फूलपाती पछि हुने उनले बताए । दशैँ, तिहार, छठसँगै निर्वाचनमा जाने यात्र यो अवधिमा बाहिरिने महासङ्घले जनाएको छ ।
सडकमा रहेका खाल्डाखुल्डी र पहिरो पन्छाउन ‘हेभि इक्वुपमेन्ट’ ठाउँ ठाउँमा राख्न सडक विभागलाई महासङ्घले अनुरोध समेत गरेको छ । यस वर्ष वर्षाले गर्दा देशभरका धेरै सडकमा खाल्डाखाल्डी छन् । वर्षा नरोकिएकाले ठाउँठाउँमा पहिरोका कारण अहिले पनि सडक अवरुद्ध भइरहने जनाइएको छ ।
प्रतिक्रिया