बिमस्टेक सम्मेलनमा आउने भिआइपीको सुरक्षाका लागि पूर्वअभ्यास गरीयो

बिमस्टेक सम्मेलनमा आउने भिआइपीको सुरक्षाका लागि पूर्वअभ्यास गरीयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ — बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलनमा नेपाल आउने पाहुनालाई आवश्यक सुरक्षासहित आवास स्थलसम्म पुर्याउन सोमबार पूर्वअभ्यास गरिएको छ ।
यही भदौ १४ र १५ गते काठमाडौँमा हुने सम्मेलनमा भाग लिन आउने विदेशी विशिष्ट तथा अति विशिष्ट पाहुनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि पाहुना बस्ने होटल, सम्मेलनस्थलदेखि उनीहरु जाने स्थानसम्म पूर्वअभ्यास गरिएको हो ।

नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको समन्वयमा उक्त पूर्वअभ्यास भएको थियो । सम्मेलनमा नेपाल, भारत, बङ्गलादेश, थाइल्याण्ड, श्रीलङ्का, म्यान्मा, भुटानका राष्ट्रप्रमुख तथा सरकार प्रमुख सहभागी हुनेछन् ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक मनोज न्यौपानेले सरकारले तोकेअनुसार विशिष्ट र अति विशिष्ट पाहुनाको सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिए ।

व्यक्ति अनुसारको सम्मानका लागि छुट्टाछुट्टै सुरक्षा व्यवस्था तयार गरेका छौँ,उनले भने । गृह मन्त्रालयले सम्मेलनमा भाग लिन आउने पाहुनालाई अति विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि २०७० अनुसार सुरक्षा योजना तयार गरेको जनाएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख न्यौपानेले बिमस्टेक सम्मेलनको लागि आवश्यक सुरक्षा व्यवस्था पूरा भएको जानकारी दिए ।