मस्यौदा समितिका संयोजक पूर्णबहादुर खड्काद्वारा महासमिति बैठकमा विधान पेश (पूर्णपाठसहित)

मस्यौदा समितिका संयोजक पूर्णबहादुर खड्काद्वारा महासमिति बैठकमा विधान पेश (पूर्णपाठसहित)


काठमाडौं – नेपाली कांग्रेस महासमिति बैठकको बन्द सत्रमा पार्टीको संघीय संरचनाअनुसार पार्टीका महामन्त्री एवं विधान संशोधन मस्यौदा समितिका संयोजक पूर्णबहादुर खड्काले बन्द सत्रमा विधान संशोधन प्रस्ताव पेश गरेका पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकार सम्मेलनमा जानकारी दिए ।

कांग्रेसको महासमिति बैठक सुरु भएको एक सातापछि विधान संशोधन मस्यौदा बन्द सत्रमा पेस भएको हो । बैठकको प्रमुख एजेण्डाको रुपमा रहेको विधान आज बल्ल महासमिति सदस्यहरुको हातमा परेको छ । सोही मस्यौदालाई महामन्त्री खड्काले शनिबार दिउँसो कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित महासमिति बैठकको बन्दसत्रमा पेश गरेका हुन् । प्रस्तुत विधानमाथि अहिलेसम्म १२ जना महासमिति सदस्यले धारणा राखेका छन् ।

सबै वक्ताले नेतृत्वले विधानलाई पूर्णरुपमा परिपालन गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले पार्टी नेतृत्वबाट विधान उल्लंघन भए नेतृत्व पनि कारबाहीको भागेदार हुनुपर्ने विधानमै उल्लेख गर्न माग गरेका छन् । साथै बैठकमा पहिलेनै प्रस्तुत भएका उपसभापति विमलेन्द्र निधि नेतृत्वको राजनीतिक प्रतिवेदन, महामन्त्री डा. शशांक कोइराला नेतृत्वको सांगठानिक प्रतिवेदन, सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको आर्थिक दृष्टिकोण सम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष सीतादेवी यादवले प्रस्तुत गरकोे आर्थिक प्रतिवेदमामा महासमिति सदस्यले विभिन्न सुझाव दिए ।

उक्त विषयलाई पार्टीका युवा नेताहरु शशिचन्द्र झाँ, अजयकुमार राई, भरत भट्ट महेन्द्र विक्रम, केरुङ लिम्बु, मदन भण्डारी र खगेन्द्र सुनारले टिपोट गरी परिमार्जनका लागि तयार गरेको सुझाव सम्बन्धित समितिका संयोजकहरुलाई आज हस्तान्त्रण गरिएको प्रवक्ता शर्माले जानकारी दिए । ६ जनाको टोलीले बुझाएको सुझावलाई मनन गर्दै प्रस्तुत प्रतिवेदनमा परिमार्जन समेत हुने उनले बताए ।

विधान निर्माण भएको मितिबाट लागुहुने भएपनि विधानमा उल्लेखित कतिपय संरचनालाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न निश्चित समय लाग्ने भएकाले सबै संरचनामा अहिले नै विधान लागु हुन नसक्ने उनले प्रष्ट पारे । साथै महासमिति सदस्यहरुको राय र सुझावका आधारमा बैठकमा प्रस्तुत भएको ५ वटै विधान फेरबदल हुनसक्ने शर्माको भनाई छ । महासमिति सदस्यको बोल्ले क्रम जारीनै रहेकाले बैठकको समापन आज या भोली कहिले हुने भन्ने टुंगो नलागेको उनले बताए ।

लामो रस्साकस्सीपछि शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले विधानको संशोधित मस्यौदा सर्वसम्मतिले पारित गरेको थियो । जसमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सह–महामन्त्री, एक कोषाध्यक्ष र एक प्रवक्ता गरि १५ सदस्यीय पदाधिकारी हुने भएको छ ।