काठमाण्डु – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दोस्रो विश्वयुद्धको विजय दिवसको अवसर पारेर ८ देखि १० मेसम्म ३ दिनका लागि आकस्मिक युद्धविरामको घोषणा गरेका छन् ।
युक्रेनको किएभले पनि यस्तै आदेश जारी गर्ने अपेक्षा गरेको मस्कोले जनाएको छ । युद्धमा रोक लगाउने कुनै पनि उल्लंघनको जवाफ दिन रूस तयार रहेको पनि रूसी प्रशासनिक केन्द्र क्रेमलिनले जनाएको छ ।
पुटिनले इस्टरको अवसरमा युद्ध रोक्न पनि यस्तै आदेश जारी गरेका थिए । तर युद्धविराममा दुवै पक्षले एकअर्कालाई सयौंपटक उल्लंघन गरेको आरोप लगाएका थिए ।
‘रुसी पक्षले विजय दिवसको ८०औं वार्षिकोत्सवको अवसरमा ७ मेको मध्यरातदेखि १० मेको मध्यरातसम्म युद्धविरामको घोषणा गर्दैछ । यस अवधिमा सबै लडाकू अभियानहरू स्थगित गरिनेछ,’ क्रेमलिनले विज्ञप्तिमार्फत राष्ट्रपति पुटिनलाई उदृत गर्दै भनेको छ, ‘युक्रेनी पक्षले यो उदाहरण पछ्याउनुपर्छ भन्ने रुसको मान्यता छ । यद्यपि यो अवधिमा युक्रेनी पक्षबाट युद्धविराम उल्लंघन भएमा रुसी सशस्त्र बलले पर्याप्त र प्रभावकारी जवाफ दिनेछ ।’
पुटिनले गत महिना युक्रेनले स्वीकार गरेको ३० दिनको पूर्ण र निःशर्त युद्धविरामको अमेरिकी प्रस्ताव अस्वीकार गरेका थिए । किएभ र यसका युरोपेली समर्थकहरूले पुटिनले ३० घण्टे इस्टर युद्धविरामलाई आफूलाई चर्चामा ल्याउने अभ्यासको रूपमा घोषणा गरेको आरोप लगाएका छन् ।
सन् २०२२ को फेब्रुअरीमा युक्रेनमा आक्रमण सुरु गरेयता रुसले युक्रेनका ४ वटा क्षेत्रको ठूलो हिस्सा कब्जा गरेको छ । सन् २०१४ मा कब्जा गरेको क्रिमियाका अतिरिक्त त्यसलाई आफ्नो भएको दाबी गरेको छ ।
प्रतिक्रिया