काठमाण्डु– कतार एयरवेजले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार उक्त एयरलाइन्सले मङ्गलबारदेखि भैरहवामा दैनिक उडान भर्न लागेको हो ।
कतारले दैनिक दुई उडान काठमाडौँ र एउटा भैरहवाबाट गर्नेछ । कतार एयरवेजको भैरहवाका ३० नोभेम्बरसम्म दैनिक एक उडानको तालिका निर्धारण गरिएको छ । विमानस्थलमर्मत सुरु हुनुअघि कतारले काठमाडौँमा दैनिक चार उडान भर्दै आएको थियो । योसहित मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने हवाई कम्पनीको सङ्ख्या ५ पुगेको छ ।
निर्माण सम्पन्न भएको लामो समयपछि यो विमानस्थलमा धमाधम अन्तर्राष्ट्रिय उडान भइरहेको छ । विमानस्थलमा यसअघि नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स), जजीरा एयर र फ्लाइ दुबईले अन्तर्राष्ट्रिय उडान सञ्चालन गरिरहेका छन् । गौतमबुद्ध विमानस्थलबाट पहिलो पटक यही कात्तिक १४ गते एकै दिन तीनवटा अन्तर्राष्ट्रिय उडान सञ्चालन भएको थियो । थाई एयर एसियाले यही कात्तिक १८ गतेदेखि व्यावसायिक उडान सुरु गरेको थियो । यस्तै फलाई दुबईले कात्तिक २४ गतेदेखि भैरहवा विमानस्थलमा उडान सुरु गरेको थियो । हप्ताको सातै दिन फलाई दुबईले दुबई–भैरहवा र भैरहवा–काठमाडौँ–दुबई उडान गर्न लागेको हो ।
नेपाल एयरलाइन्सले भैरहवा विमानस्थल बेस बनाएर मलेसियाको क्वालालम्पुर र दुबई उडान सञ्चालन गरिरहेको छ । विसं २०७९ जेठ २ गते गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भएको थियो । दुई अन्तर्राष्ट्रिय विमानस्थल पूर्णक्षमतामा सञ्चालन गर्ने सरकारको कार्ययोजना अनुरुप गौतमबुद्ध विमानस्थलमा धमाधम अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न लागिएको विमानस्थलले जनाएको छ ।
टीआइएको ‘ट्याक्सी वे’ निर्माण धमाधम
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए) को स्तरोन्नतिको क्रममा धावनमार्गसँगै समानान्तर हुनेगरी ट्याक्सी वे निर्माणको काम धमाधम भइरहेको विमानस्थलले जनाएको छ । राति १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल विस्तारको काम भइरहेको छ ।
प्राधिकरणले यही कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा उडान बन्द गरेर काठमाडौँ विमानस्थलको मर्मत र विस्तारको काम सुरु गरेको थियो । प्राधिकरण अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’लगायत विस्तार गर्नेछ ।
प्रतिक्रिया