एग्रिकल्चर गेम रियालिटी शोको प्रतियोगी आवेदन खुला

एग्रिकल्चर गेम रियालिटी शोको प्रतियोगी आवेदन खुला


काठमाण्डु – विश्वकै पहिलो एग्रिकल्चर गेम रियालिटी शो ‘र’को प्रतियोगी आवेदन खुला गरिएको छ ।

शनिबार राष्ट्रिय धान दिवसको अवसर पारेर आयोजित समारोहबीच धान रोपाइँ उत्सव मनाउँदै कृषि, उद्यमशीलता र जलवायु परिवर्तनलाई मुख्य आधारशिला बनाएको प्रतियोगीको आवेदन खुला गरिएको हो ।

तीनै तहका सरकारसँग साझेदारी गर्दै हालसम्म विभिन्न स्थानीय सरकारहरू, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र त्रिभुवन विश्वविद्यालयको कृषि तथा पशु विज्ञान अध्यन संस्थान लगायतसँग साझेदारी भएको छ ।

हिमालय टेलिभिजनबाट प्रसारण हुने कार्यक्रमको होस्ट महानायक राजेश हमाल छन् । व्यावसायिक किसान र बीएससी कृषि वा सोसरह अध्ययन गरेका व्यक्तिहरूले आवेदन दिन सक्छन् भने कार्यक्रममा १६ वटा विषयगत एपिसोडहरू हुनेछन्, जसमा सहभागीहरूको प्रस्तुतिलाई निर्णायकहरूको प्यानलले मूल्यांकन गर्नेछ ।

निर्णायकहरूको प्यानलमा कृषि मन्त्रालयका पूर्व सचिव डा. योगेन्द्रकुमार कार्की, कृषि अर्थशास्त्री डा. नम्रता पाण्डे र अन्य विषय विज्ञहरू छन् ।

‘र’ एक बेजोड रियालिटी गेम शो हो, जुन कृषि उद्यमशिलतालाई प्रवद्र्धन गर्दै समुन्नत समाज निर्माणको दृष्टिकोणका साथ ल्याइएको छ । कार्यक्रम कृषि उद्यमशिलता र जलवायु परिवर्तनलाई मुख्य विषयवस्तु बनाएर कृषिलाई सम्मानित पेशाको रूपमा स्थापित गरी किसानलाई सम्मानजनक पहिचान दिने उद्देश्य अनुरूप प्रस्तुत गरिएको छ ।

कृषक र कृषि प्रविधिक शोमा प्रतियोगी रहने छन्, जसमा दीगो र नविन कृषि अभ्यासहरू प्रवर्द्धन गर्दै, उनीहरूको कृषि सम्बन्धी ज्ञान, रचनात्मकता र कौशलताको परीक्षण गरिनेछ । कार्यक्रमको उद्देश्य कृषिको महत्त्वलाई उजागर गर्दै, युवा पुस्तालाई खेतीमा चासो लिन प्रेरित गर्ने र किसानहरूको कडा परिश्रम र समर्पणलाई उच्च कोटीको रूपमा प्रस्तुत गर्ने हुनेछ ।

‘समृद्धिका लागि नयाँ दृष्टि’को नाराका साथ कार्यक्रमले सरकारी निकाय, नीति निर्माता, कृषि मूल्य शृंखलामा आवद्ध व्यक्ति र आम जनतामा सकारात्मक प्रभाव पार्ने लक्ष्य राखेको छ ।

राष्ट्रिय धान दिवसको अवसरमा ललितपुर महानगरपालिका–२१ खोकनाको सहकार्यमा, प्रमुख अतिथि पूर्व कृषिमन्त्री छविलाल विश्वकर्मा, महानायक राजेश हमाल, पूर्व सचिव डा. योगेन्द्रकुमार कार्की लगायत विशिष्ट व्यक्तित्वहरूको साथमा आवेदन फर्म खुला र रोपाइँ उत्सव कार्यक्रम सम्पन्न भएको थियो ।