हरेक दिन एउटा–एउटा काण्ड आउँछ, विरोध र आन्दोलन गरेर साध्य छैन : सभापति लामिछाने

हरेक दिन एउटा–एउटा काण्ड आउँछ, विरोध र आन्दोलन गरेर साध्य छैन : सभापति लामिछाने


काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले हरेक दिन एउटा–एउटा काण्ड आउने गरेकाले विरोध र आन्दोलन गरेर साध्य नरहेको बताएका छन् ।

आज शनिबार काठमाण्डु क्षेत्र नम्बर ९ ले नैकापमा आयोजना गरेको पार्टीको खुलासभामा सभापति लामिछानेले रास्वपाको मिसन ८४ मा दलहरूको आँखा लागेकाले चाँडै मिसन ८० सार्वजनिक गर्ने बताए ।

मिसन २०८४ लाई जनताले साथ दिए एकैपटक बेथितिलाई अन्त्य गर्न सक्ने उनले दाबी गरे । मिसन २०८४ मा अन्य दलको दावा हो भने ८४ सम्म रास्वपालाई सरकार चलाउन दिए २०८४ मा प्रचार नगरी निर्वाचन लड्ने जिकिर गरे ।

रास्वपा एक्लै निर्वाचन लड्ने भन्दै अन्य दलहरूले आगामी राष्ट्रियसभा निर्वाचनमा एक्लै चुनाव लड्ने आट गर्न नसकेको उनले बताए । ठूला भनिएका दलहरूले मदन–बीपीको नाम बेच्ने गरेको बताउँदै लामिछानेले आफूहरूसँग सुशासनको एजेण्डा मात्र भएको बताए ।

सभापति लामिछानेले नेताहरूले आफन्तलाई भागबण्डा गरेर देश डुबाएको आरोप लगाउँदै अब ठूला दलका कुनै नेताले देश बनाउँछन् भनेर विश्वास गर्न नसकिने बताए । आगामी निर्वाचनमा जनताले चुनेरै पठाएका व्यक्तिलाई उम्मेदवार बनाउने घोषणा गर्दै उनले एजेण्डा र मुद्दा बोकेर अगाडि बढ्ने स्पष्ट पारेका छन् ।