काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले २०७९ सालको प्रतिनिधिसभा चुनाव हारेका मान्छेहरू ठाँटले राष्ट्रिय सभामा उम्मेदवार भएको गुनासो गरेका छन् ।
आज मंगलबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संवैधानिक परिषद् सम्बन्धी विधेयकमाथिको छलफलमा भाग लिँदै उनले विगतमा पटक–पटक अवसर पाएकाहरूले पुनः राष्ट्रिय सभाको उम्मेदवार हुने अवसर पाएको टिप्पणी गरे ।
नेपालले हाल अवलम्बन गरेको व्यवस्था बेठीक नभए पनि व्यवस्था सञ्चालन गर्नेहरूले व्यवस्था नै ‘हाइज्याक’ गरेको आरोप लगाए । त्यसको प्रमाण राष्ट्रिय सभाको चुनावमा उम्मेदवार भएकाहरू रहेको उनले बताए ।
उनले भने, ‘म नाम लिएर भन्दिनँ तर चुनाव हारेका मान्छेहरू ठाँटले राष्ट्रिय सभामा उम्मेदवार भएका छन् । चुनाव हारेकालाई त्यही कार्यकालमा राष्ट्रिय सभामा ल्याउन खोज्नुको कारण छ ।’ कारणको विस्तृत व्याख्या नगरेका उनले नेतृत्वले जे गरे पनि ठीक भनेर हिँड्नुपर्ने बाध्यतामा स्वयं सांसदहरू रहेको भनी व्यंग्य गरे ।
सम्बन्धित राजनीतिक दलले पार्टीको विधानमा प्रतिनिधि सभाको चुनाव हारेको कार्यकालभर राष्ट्रिय सभाको उम्मेदवार हुन नसक्ने भनी लेखेको भए अवस्था फरक रहने र त्यसले सकारात्मक सन्देश प्रवाह गर्न सक्ने उनले बताए ।
प्रतिक्रिया