मेरो खातामा १ करोड ८० लाख जम्मा भएको छैन : रवि लामिछाने

मेरो खातामा १ करोड ८० लाख जम्मा भएको छैन : रवि लामिछाने


काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले ग्यालेक्सी फोरके टेलिभिजन छाड्ने प्रक्रियाका क्रममा आफ्नो खातामा पैसा जम्मा नभएको स्पष्ट पारेका छन् ।

सहकारीको पैसा दुरुपयोग भएको विषयमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारको खण्डन गर्दै पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सञ्चारमाध्यममा आएको जस्तो १ करोड ८० लाख आफ्नो खातामा जम्मा नभएको बताए ।

उनले भने, ‘मैले गोर्खा मिडिया नेटवर्क अन्तर्गत सञ्चालित ग्यालेक्सी फोरके टेलिभिजनमा काम गर्दैगर्दा ‘गूडविल शेयर’को अपेक्षा गरेको र गूडविल शेयरको प्रावधान नभएकाले त्यसलाई प्रणालीमा ल्याउनका लागि गरिएकाबाहेक मैले लिएको वा दिएको छैन ।’

उनले अगाडि थपे, ‘सन् २०२२ जुन १७ मा १ करोड ८० लाखको चेक मेरो खातामा क्रेडिट गरिएको तर उक्त चेक इलेक्ट्रिोनिक चेक क्लियरिङ (ईसीसी) मार्फत चेक क्लियरिङमा पठाउँदा खातामा रकम पर्याप्त नभएको हुँदा सो रकम खातामा जम्मा नभएको बैंकले विवरण उपलब्ध गराएको छ ।’