काठमाण्डु – सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग बयान लिने तयारी गरेको छ ।
समितिका सभापति सूर्यबहादुर थापाले शुक्रबार बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै गोर्खा मिडिया प्रालिका तत्कालीन अध्यक्षसहित पदाधिकारीसँग सोधपुछ गर्नुपर्ने भएकाले सभापति लामिछानेलाई पनि समितिमा बोलाएर बयान लिने बताए ।
उनले भने, गोर्खा मिडिया प्रालिका तत्कालीन अध्यक्षसहित पदाधिकारीसँग सोधपुछ गर्ने उल्लेख भएकाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पनि समितिमा बोलाउँछौं ।’
समितिले सहकारी ठगेर विदेशतिर भागेका २१ जनालाई नेपाल ल्याउन गृह मन्त्रालयलाई निर्देशन दिएको उनले बताए । त्यसपछि सरकारबाट केही जानकारी नआएको उनले बताए । समितिको प्रतिवेदन तयार पार्ने कार्य समयमा नै सम्पन्न गर्ने योजना रहेको उनले बताए ।
कारागारमा करीब ३०० जना रहेकाले सबैलाई सोधपुछ गर्न सम्भव नभएको भन्दै प्रतिनिधिमूलक रूपमा अर्बाैं रुपैयाँ अपचलन भएका सहकारीका अध्यक्ष र सञ्चालकलाई सोधपुछ गर्ने गरी नामावली तयार गरेर सोधपुछको काम भइरहेको उनले बताए । उनले समितिले प्रतिवेदनको मस्यौदाको काम पनि अगाडि बढाएको बताए ।
प्रतिक्रिया