कर्णाली – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सदैव विकासमा छुटेको कर्णालीलाई अब रास्वपाले जोड्ने बताएका छन् ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा वीरेन्द्रनगरमा शनिबार आयोजित कर्णाली विशेष अभियानको प्रदेश भेलामा सभापति लामिछानेले कर्णालीले पटक–पटक नेताहरूलाई जिताएर सिंहदरबार पठाए पनि ती जनप्रतिनिधिहरूले आफू र आफ्नालाई बनाउनेबाहेक अरू केही नगरेको टिप्पणी गरे ।
उनले भने, ‘कर्णालीले जितेन, सधैं हार्यो । अब विकासमा जोड्नका लागि आगामी चुनावमा यसले रास्वपालाई सबैभन्दा बढी मत दिएर जिताउँछ भन्ने अपेक्षा गरेको छु ।’
राजनीतिमा आँट, तागत र ढंग हुन आवश्यक रहेको बताउँदै सभापति लामिछानेले आगामी निर्वाचनमा पुराना नेताहरूलाई स–सम्मानका बिदा गर्ने जिकिर गरे ।
पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका उनले भने, ‘विकासमा कर्णाली छुट्यो तर यसले चुनेर पठाएका एकएकका परिवार गोरु बेचेको साइनो परेको मान्छे सबलाई पुगेको छ, कोही छुटेको छैन ।’ घण्टीसँगै जिम्मेवारी, जनताको ‘एजेन्डा’ बोकेर अगाडि बढेको रास्वपालाई ०८४ को चुनावमा कर्णालीले सबैभन्दा बढी मत दिने उनले दाबी गरे ।
पार्टीका कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले शहर मात्र नभई गाउँगाउँमा पनि रास्वपा फैलिँदै गएको बताए । उनले रास्वपा ४ महिना सरकारमा हुँदा विधिगत काम मात्र गरेको जिकिर गरे ।
सभापतिलाई अनावश्यक दुःख दिन समिति बनाए पनि त्यो गलत सावित हुँदै गएको जनाउँदै उनले वर्षौंदेखि रजगज गरेकाहरूले भ्रम छर्ने काम गरेको आरोप लगाए ।
प्रतिक्रिया