छानबिन समिति सहकारी पीडितलाई न्याय दिन सक्षम हुने विश्वास छ : सभापति लामिछाने

छानबिन समिति सहकारी पीडितलाई न्याय दिन सक्षम हुने विश्वास छ : सभापति लामिछाने


सुदूरपश्चिम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सहकारी अपचलन सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समिति सहकारी पीडितलाई न्याय दिन सक्षम हुने विश्वास व्यक्त गरेका छन् ।

धनगढीमा सोमबार बसेको पार्टीको सुदूरपश्चिम प्रदेश दोस्रो विस्तारित बैठकमा उहाँले संसदीय समितिले मिहेनतका साथ काम गरिरहेकाले पीडितको समस्या समाधान हुने आफूलाई विश्वास रहेको बताए ।

सभापति लामिछानेले आफ्नोबारेमा गलत मनसायका साथ टीकाटिप्पणी भइरहेका भन्दै समितिको प्रतिवेदनबाट यो प्रष्ट हुने धारणा राखे । ‘जसको कुनै सहकारी छैन, उसैलाई सहकारी ठग भनिएको छ, पीडितलाई न्याय दिनेभन्दा पनि रविलाई डाम्न पाएहुन्थ्यो भन्ने पनि केहीलाई लागेको छ,’ उनले भने, ‘यस विषयमा समितिले विधि र पद्दतिमा रहेर निष्कर्ष निकाल्ने नै छ ।’

पूर्व उप्रधान तथा गृहमन्त्री लामिछानेले रास्वपाको प्रवेशले राष्ट्रिय राजनीति हल्लिएको दाबी गरे । पार्टीका सहप्रवक्ता रमेश प्रसाईले पार्टीमा देखिएको उतारचढावबाट बिचलित नभएर संगठन निर्माणमा लाग्न नेता–कार्यकर्तालाई आग्रह गरेका छन् ।