सहकारीको पैसा मिडियामा आएको थाहा थिएन, म जेलै जानुपर्छ भने पनि तयार छु : रवि

सहकारीको पैसा मिडियामा आएको थाहा थिएन, म जेलै जानुपर्छ भने पनि तयार छु : रवि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा सांसद रवि लामिछानेले सहकारीमार्फत गोरखा मिडियामा पैसा आएकोबारे आफूलाई थाहा नभएको दोहोर्‍याएका छन् ।

शुक्रबार चितवनको इच्छाकामना गाउँपालिकाको मुग्लिनमा आयोजित कार्यक्रममा उनले आफू कार्यरत रहँदा सहकारीको पैसा आएको थाहा नपाएको बताए ।

आफू मिडिया सञ्चालक हुँदा रकम खर्च गरेको हकमा आफूले जिम्मा लिनुपर्छ भने त्यसका लागि तयार रहेको उनले बताए । बचतकर्ताको रकम विभिन्न सहकारीबाट गोरखा मिडियामा आएको र सहकारीको रकम खर्च गर्नमा लामिछानेको पनि भूमिका रहेको निष्कर्षसहित संसदीय छानबिन विशेष समितिले कारबाहीको सिफारिस गरेको छ ।

सभापति लामिछानेले भने, ‘कम्पनीमा आएको पैसा खर्च गरेको हकमा जिम्मेवारी लिनुपर्छ भने म तयार छु । त्यो जिम्मेवारीबाट म बिमुख भएको छैन । तर गलत व्याख्या गरेर, राज्य शक्तिको दुरुपयोग गरेर यता फसाउन सकिन्छ कि उता तान्न सकिन्छ कि भनेर षड्यन्त्र गर्नु पर्दैन । २ वर्ष खोज्दा नपाएको प्रमाण अब कति खोज्नुहुन्छ, खोज्नुस् ।’

सहकारी बचतकर्ताको रकम फिर्ता गराउन आफू र आफ्नो पार्टी निरन्तर लागिरहेको उनले बताए । ‘म अनुसन्धानमा सघाउँछु । मैले कहाँ बयान दिनुपर्छ, दिन्छु । म कहाँ आउनुपर्छ, आउँछु । वा म जेलै जानुपर्छ भने पनि तयार छु,’ उनले भने, ‘पीडितको रकम फिर्ता गराउने वातावरण बनाउन रास्वपा र म लागिरहने छौं । गृहमन्त्री हुँदा पनि मन्त्रिपरिषद्मा विशेष प्रस्ताव लगेर निर्णय गराएको थिएँ । तर सरकार फेरियो ।’

राज्यका सबै निकाय प्रयोग गरेर आफूलाई फसाउन प्रयास गरिएको उनले गुनासो गरे । ‘एउटा मान्छेलाई दोषी देखाउन डेढ/दुई वर्ष पर्याप्त हुँदैन र ? राज्यका सबै निकाय प्रयोग गरेर बनाएको संसदीय छानबिन समितिको प्रतिवेदनले सहकारीको रकम अपचलनमा मेरो कहीँकतै संलग्नता देखिएन भनेर भनेको होइन र ?’ उनले भने, ‘त्यसको अपव्याख्या त जे गरे पनि भयो । सहकारी पीडितलाई न्याय दिनेभन्दा पनि रवि लामिछानेलाई कसरी फसाउने भन्ने नियतमा बनाइएको समितिले संलग्नता भेटेन त म के गरौं ?’

सहकारीबाट गोर्खा मिडियामा रकम ल्याउने विषयमा आफ्नो संलग्नता नरहेको उनले बताए । ‘सहकारीको पैसा गोर्खा मिडिया नेटवर्क प्रालिमा ल्याउने कुरामा मेरो संलग्नता छैन । तर आएको पैसामा सञ्चालक समेत रहेकाले जिम्मेवारी लिनुपर्छ भनेको छ । कार्यकारी अध्यक्षले सञ्चालक समितिलाई जानकारी नै नदिई व्यक्तिगत रूपमा निव्र्याजी ऋण ल्याउँदा ‘तँलाई किन थाहा भएन’ भन्छन् । थाहा भएन त म के गरौं ?’ उनले भने ।

आफू गोर्खा मिडियामा कार्यरत हुँदा यसखाले गुनासो आएको भए त्यतिखेरै आफूले यसबारे खोजी गर्ने बताउँदै उनले आफू दोस्रोपटक मन्त्री हुँदा मात्रै यसबारे जानकारी पाएको बताए । उनले भने, ‘त्यतिखेर कोही एक जनाको मात्रै गुनासो आएको भए, गोरखा मिडियामा गैरकानूनी रूपमा सहकारीको पैसा भित्रिएको छ भन्ने जानकारी पाएको भए, त्यतिबेलै खोज्थे नि ! तर राजनीतिमा आएपछि थाहा पाएँ । अझ म दोस्रोपटक मन्त्री भएपछि राजनीतिक स्वार्थका लागि यो विषय चर्कोसँग उचालियो ।’

लामिछानेले आफूले कम्पनीको खातामा भएको रकम कम्पनीकै हितका लागि खर्च गरेको बताए । उनले भने, ‘मैले त कम्पनीको खातामा भएको पैसा कम्पनीकै हितका लागि खर्च गरेको हुँ । बैंकबाट बैंकमै आएको पैसाबारे मलाई होइन, राज्यका सम्बन्धित निकायलाई जानकारी हुनुपर्थ्यो होइन र ? ६५ करोड नै म हुँदा आएको र त्यसमा मेरो जिम्मेवारी हुनुपर्छ भनेर गलत व्याख्या गरिँदैछ, त्यो सत्य होइन ।’

उनले ७५ अर्ब रकम अपचलनको विषय आउँदा–आउँदै राजनीतिक स्वार्थका कारण आफूमै केन्द्रित हुँदा सहकारी पीडितप्रति अन्याय भइरहेको बताए । ‘मैले कुनै पनि सहकारीको पैसा अपचलन गरेको छैन । मैले कसैलाई ठगेको छैन । बरु कयौं ठगलाई जेल कोचेर सञ्चारकर्मबाट राजनीतिमा आएको हुँ । अहिले पनि प्रतिवेदनको कुन पाना पल्टाएर, कुन वकील, कुन न्यायाधीशसँग वा कुन पार्टीको को नेतासँग कुन ठाउँ/क्षेत्रमा बहस गर्नुपर्ने हो तयार छु,’ उनले भने ।